नेपाली लोककथामा सामूहिक अचेतन र आद्यविम्ब
Keywords:
सामूहिक अचेतन, व्यन्द्रिकरण, छाया, रूपान्तरय्ण, आद्यविम्बAbstract
प्रस्तुत शोधलेख विश्लेषणात्मक मनोविज्ञानका प्रवर्तक कार्ल गुस्ताभ युङको सामूहिक अचेतन र आद्यविम्बसम्बन्धी मान्यताका आधारमा नेपाली लोककथाको अध्ययनमा केन्द्रित छ। नेपाली लोककथाहरूमा सामूहिक अचेतनको अभिव्यक्ति कसरी भएको छ र तिनले नेपाली समाजको सामूहिक मनोविज्ञानलाई कसरी प्रतिनिधित्व गर्दछन् भन्ने विषयलाई यस लेखमा मुख्य शोधसमस्याका रूपमा उठाइएको छ। युङको सामूहिक अचेतन र आद्यविम्बको सैद्धान्तिक केन्द्रमा रही सोद्देश्यपूर्ण नमुना छनोट विधिद्वारा छानिएका नेपाली लोककथाहरूको विश्लेषण गर्नु र लोककथा अध्ययनको परम्परागत ढाँचामा मनोवैज्ञानिक विश्लेषण जोडेर यस विधाको अध्ययनलाई नयाँ आयाम प्रदान गर्नु यस लेखको मुख्य शोध उद्देश्य रहेको छ। यो अध्ययन पुस्तकालय पद्धतिमा आधारित गुणात्मक र व्याख्यात्मक प्रकृतिको निगमनात्मक शोधविधिमा आधारित छ। यस लेखको मुख्य सैद्धान्तिक आधार कार्ल गुस्ताभ युङको विश्लेषणात्मक मनोविज्ञान र उनले प्रतिपादन गरेका सामूहिक अचेतन तथा आद्यविम्बका मान्यताहरू हुन्। यस क्रममा ‘काली वेश्या र कालीखोला’, ‘सौतेनी आमा र तेजकुमारी’ ‘गुरुमापा’, ‘बुद्धिमान् भँगेरो’ र ‘खिरपाक ताउली’ गरी पाँचवटा लोककथाहरू विश्लेषणका लागि नमुनाका रूपमा लिइएका छन्। यी लोककथाहरूले नेपाली समाजको सामूहिक मनोविज्ञानमा रहेको पवित्रता र अपवित्रताबीचको द्वन्द्व, दमनकारी शक्तिमाथि बुद्धिको विजय र व्यक्तिगत दुःखबाट आध्यात्मिक रूपान्तरण तथा सामाजिक सन्त्रासको सामूहिक व्यवस्थापनको सार्वभौम चाहनालाई उजागर गर्दछन्। यी लोककथामा प्रयुक्त पात्रहरूले छाया, छलकपटी, महान् माता, उद्धारकर्ता, जादुई, जल, बुद्धिमान् बुढो, शत्रु, पुनर्जन्म आदि आद्यविम्बहरूलाई कसरी मूर्त रूप दिई व्यक्तिकरण गर्छन् भन्ने विषय नै यस शोधलेखको मुख्य निष्कर्ष रहेको छ।