आधारभूत तहमा कार्यरत शिक्षकहरूको पाठयोजना निर्माण र प्रयोगसम्बन्धी धारणा
Keywords:
पाठयोजना, धारणा, नामरुपी स्केल, क्र्रमागत स्केल, काई स्क्वायरAbstract
दैनिक पाठयोजना निर्माण र प्रयोग प्रभावकारी शिक्षणको पहिलो तथा अनिवार्य सर्तका रुपमा लिइन्छ । यसले शिक्षणलाई जीवन्त र प्रभावकारी बनाउनु साथै सम्बन्धित शिक्षकलाई मार्ग निर्देश समेत गर्दछ । प्रस्तुत आधारभूत तह (१–५) मा कार्यरत शिक्षकहरूको पाठयोजना निर्माण र प्रयोगसम्बन्धी धारणासँग सम्बन्धित लेखको मुख्य उद्देश्य शिक्षकहरूको पाठयोजना निर्माण र प्रयोगावस्थाको अध्ययन गर्नु रहेको छ । यो लेख परिमाणात्मक अनुसन्धानमा आधारित छ । यसमा परिमाणात्मक अनुसन्धानको सर्वेक्षण ढाँचाको प्रयोग गरिएको छ ।कालिकोट जिल्ला अन्तर्गत खाँडाचक्र नगरपालिकाका ३९ ओटा विद्यालयका आधारभूत तह (१–५) मा कार्यरत ८८ शिक्षकलाई सेन्सस विधिको प्रयोग नमुना छनोट गरिएको छ । नमुनाका रुपमा छनोट भएका ८८ जना शिक्षकबाट पाठयोजना निर्माण प्रयोगसम्बन्धी धारणागत तथ्य प्रश्नावलीमार्फत सङ्कलन गरिएको छ । तथ्याङ्क सङ्कलन गर्न नामरुपी स्केल र क्रमागत स्केलको प्रयोग गरिएको छ । विभिन्न स्केलबाट प्राप्त तथ्यलाई कउकक को प्रयोग गरी काईस्क्वायर निकालिएको छ । विश्लेषणबाट प्राप्त तथ्यलाई हेर्दा पुुरुष भन्दा महिला शिक्षकले पाठयोजना निर्माण र प्रयोग गरेको पाइन्छ भने उमेरका आधारमा २०–३० वर्षका शिक्षकले अन्य उमेर समूहका शिक्षकभन्दा बढी पाठयोजना निर्माण र प्रयोग गरेको पाइयो भने पेसाागत अनुभवका आधारमा हेर्दा ३० वर्षभन्दा बढी शिक्षण अनुभव भएका शिक्षकहरूले बढी पाठयोजना निर्माण र प्रयोग गरेको र पेशागत सन्तुष्टिका आधारलाई हेर्दा धेरै सन्तुष्टि शिक्षकले पाठयोजना निर्माण र प्रयोग गरेको पाइयो । अध्ययनबाट उपर्युक्त तथ्य फेला परे प्रभावकारी शिक्षणका लागि सम्पूर्ण शिक्षकले पाठयोजना निर्माण र प्रयोग गर्नपर्ने देखिन्छ । आधारभूत तह (१–५) मा कार्यरत शिक्षकहरूको पाठयोजना निर्माण र प्रयोगसम्बन्धी धारणाको अध्ययनमा केन्द्रित लेखबाट पाठयोजना निर्माण र प्रयोगसँग सम्बधित अध्ययन अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।