सिकाइमा शिक्षक शिक्षाको उपयोगप्रति विद्यार्थी प्रतिक्रिया
Keywords:
जवाफदेही, बालमैत्री अभ्यास, श्रव्य–दृश्य र सिकाइ सहजीकरणAbstract
सिक्ने सिकाउने प्रक्रियामा विद्यार्थीलाई प्रोत्साहित गर्न कक्षाकोठाको शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुनुपर्दछ । शिक्षण सिकाइका मूल्यहरूलाई कक्षाकोठाको व्यवहारमा प्रदर्शन गर्न सकेमा सफल शिक्षण भएको मानिन्छ । शिक्षक शिक्षाको उपयोगबाट नै प्रभावकारी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न प्रेरित गर्दछ । यो अध्ययनमा गुणात्मक ढाँचालाई अवलम्बन गरी नेपाली भाषा शिक्षणमा शिक्षक शिक्षाको उपयोगप्रति विद्यार्थीका अनुभवको खोजी गर्ने उद्देश्य निर्धारण गरिएको छ । शिक्षक शिक्षा शिक्षकको वृत्ति र विकासमा मात्र होइन शैक्षिक उन्नतिको महत्वपूर्ण औजार भएकाले शिक्षकको कक्षाकोठाको प्रस्तुतिको अवस्था पहिचानका लागि यो विषयमा अध्ययन गर्नु सान्दर्भिक छ । विषयगत ज्ञानको दायरा बढाएर व्यक्ति स्वयम् जवाफदेही हुन सकेमा सहज वातावरणमा शिक्षक शिक्षाको उपयोग गर्न सकिन्छ । विषयवस्तुको प्रकृति र स्तरअनुसार प्रत्येक पाठमा समूहिक र व्यक्तिगत गतिविधिहरू सञ्चालन गरेर विद्यार्थीको क्षमता अभिवृद्धिमा लाग्नुपर्ने देखिन्छ । शिक्षकले कठोर र रुखो बोलीभन्दा पनि बालमैत्री व्यवहार र उपयुक्त वातावरणमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने तथ्य प्राप्त भएको छ । कक्षामा समूह विभाजनमा काम गर्दा सबै विद्यार्थीको पालो आउन शिक्षकले टोली नेता छनोटमा हेरफेर गर्नुपर्छ । समाजमा उच्च दर्जाको रूपमा चिनिएको शिक्षण पेसाप्रति हेर्ने दृष्टिकोणलाई स्थायित्व दिनका लागि शिक्षकले गलत आचरण त्याग्नुपर्ने देखिएको छ । शिक्षकले सिकेका ज्ञान सिप कक्षाकोठामा उतार्न विशेषतः प्रशासनिक निकायबाट शिक्षकको मनोवैज्ञानिक पक्ष बलियो बनाउन व्यक्तिगत प्रयासलाई प्रोत्साहन गर्ने र आर्थिक पक्षमा आकर्षण देखाएर शिक्षकलाई उत्प्रेरित हुने अवसर निर्माण गरेमा सिकाइमा शिक्षक शिक्षाको प्रभावकारिता वृद्धि गर्न सकिने निष्कर्ष निकालिएको छ । शिक्षकलाई समय सान्दर्भिक शिक्षण प्रविधिमा सक्षम बनाई निरन्तर स्वाध्ययनप्रति लगाव बढाउन व्यक्तिगत र सम्बन्धित संस्थाको अथक प्रयास अत्यावश्यक देखिन्छ ।