नेपालीका प्राथमिक कालीन अभिलेखमा प्रयुक्त सन्दर्भ र भाषा
DOI:
https://doi.org/10.3126/ss.v11i01.73632Keywords:
अभिलेख,, अवधारणात्मक अर्थ, पाठगत सन्दर्भ, बाह्य सन्दर्भ, सहभागीAbstract
प्रस्तुत लेख नेपाली भाषाका प्राथमिक कालीन अभिलेखमा प्रयुक्त सन्दर्भ र भाषाको सम्बन्धको विश्लेषणमा केन्द्रित छ । गुणात्मक प्रकृतिको यस लेखमा व्याख्यात्मक र विश्लेषणात्मक विधिको उपयोग गरी नेपाली भाषाका प्राथमिक कालीन अभिलेखमा प्रयुक्त भाषाका माध्यमबाट नेपालको तत्कालीन सन्दर्भ र भाषाको सम्बन्धको निक्र्योल गरिएको छ । अभिलेखमा प्रयुक्त सन्दर्भ र भाषागत सम्बन्धको विश्लेषणका लागि सैद्धान्तिक पर्याधारका रूपमा भाषाविद् जे. आर. फर्थ र एम.ए.के. ह्यालिडेद्वारा प्रस्तुत भाषाप्रयोगको परिस्थितिगत सन्दर्भ र संस्कृतिगत सन्दर्भलाई मुख्य आधार बनाइएको छ । परिस्थितिगत सन्दर्भ र संस्कृतिगत सन्दर्भका आधारमा भाषिक संरचनाको वैशिष्ट्य र भाषिक संरचनाका आधारमा पाठगत सन्दर्भका साथै सांस्कृतिक र त्यसअन्तर्गत पर्ने सामाजिक राजनीतिक, प्राकृतिक, भौगोलिकलगायतका विविध बाह्य सन्दर्भको निक्र्योल गर्न सकिन्छ । यी सबै किसिमका सन्दर्भको अभिव्यक्ति भाषाबाट भएको हुन्छ भन्ने मान्यता परिस्थितिगत र संस्कृतिगत सन्दर्भको मान्यता हो । प्राथमिक कालीन अभिलेखमा संस्कृत, प्राचीन नेपाली (तात्कालिक खस भाषा) र तिब्बती भाषाको प्रयोग भएको छ । तत्सम, तद्भव र आगन्तुक शब्दका साथै भाषाका क्षेत्रगत भेदकोे प्रयोग भएका यी अभिलेखमा लेख्य चिह्न तथा विभक्तिको उपयुक्त रूपमा प्रयोग हुन सकेको छैन । आगन्तुक शब्दमा तिब्बती शब्दको प्रयोग बढी मात्रामा भएको छ । नेपाली भाषाको उद्गमस्थलको नाम ‘सिन्जा’ तिब्बती भाषाको ‘सिङ्जा’ (ཤིང་ཛ) शब्द (अर्थ– निर्माणका लागि चाहिने काठ) र सिन्जालाई बुझाउने अर्को शब्द याचे (ཡ་ཅེ÷अर्थ– उच्च प्रदेशको भूमि) तिब्बती भाषाबाट आएका हुन् । यी दुई शब्दले सिन्जाको प्राकृतिक र भौगोलिक सन्दर्भ सङ्केत गरेका छन् । यस्तै अभिलेखमा प्रयुक्त विविध भाषिक संरचनाबाट तत्कालीन नेपालको सांस्कृतिक, सामाजिक, राजनीतिकलगायतका सन्दर्भको अभिव्यक्ति भएको छ । यसरी नेपालीका प्राथमिक कालीन अभिलेखमा प्रयुक्त भाषाबाट तत्कालीन नेपाल विशेष गरी नेपाली भाषाको जन्मस्थल जुम्लाको सांस्कृतिक, सामाजिक, राजनीतिक, प्राकृतिक र भौगोलिक सन्दर्भ अभिव्यक्त भएको छ भन्ने निष्कर्ष प्रस्तुत लेखबाट प्राप्त भएको छ ।