प्रगति राईको थाङ्ग्रा उपन्यासमा छोरीलाई वंशाधिकार
DOI:
https://doi.org/10.3126/ss.v11i01.73628Keywords:
किराँत सौन्दर्य, तीन चुलो, पितृसत्ता, वाग्दाता, वंशाधिकारAbstract
प्रस्तुत लेख ‘प्रगति राईको थाङ्ग्रा उपन्यासमा छोरीलाई वंशाधिकार’ अध्ययनमा केन्द्रित गरिएको छ । किराँत राई समुदायमा विवाह गरिसकेपछि छोरीलाई माइतीको चुलाबाट निष्कासन गरी बेहुलाको जिम्मा लगाउने जुन परम्परा छ, त्यसलाई वाग्दाता दिनु भनिन्छ । चुलाबाट निष्कासन र वाग्दाता दिइसकेपछि छोरीले माइती पक्षको सम्पत्ति र पारिवारिक हकअधिकारका साथै वंशाधिकारसमेत गुमाउँछन् । त्यसैले यस उपन्यासमा चुलाबाट निष्कासन गर्ने परम्पराको विरोध गर्दै छोरीलाई माइतीकै चुलामा बस्न पाउने वंशाधिकार हुनुपर्छ भन्ने नारीवादी विचार व्यक्त गरिएको छ । यस लेखमा उपन्यासमा अभिव्यक्त छोरीलाई वंशाधिकार हुनुपर्छ भन्ने विचारको विश्लेषण राई संस्कृतिमा प्रचलित तीन चुलाको दर्शन र वाग्दाता परम्पराका साक्ष्यमा परम्परा, विश्वास र सामाजिक व्यवस्था जस्ता सांस्कृतिक पक्षलाई आधार बनाई गरिएको छ । यसमा प्राथमिक सामग्रीका रूपमा ‘थाङ्ग्रा’ उपन्यास चयन गरिएको छ भने उदार नारीवाद र सांस्कृतिक अध्ययनसँग सम्बद्ध सैद्धान्तिक सामग्रीलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । यस लेखका निम्ति सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । यसमा वाग्दाता परम्पराले छोरीलाई सम्पत्ति र वंशाधिकारबाट कसरी वञ्चित गरेको छ भन्ने कुरा नुमा, सोमा, सुशान्त र दीपक आदि पात्रका भनाइ र संवादमा अभिव्यक्त भएको हुँदा तिनीहरूकै भनाइलाई तथ्य बनाई विश्लेषण विधिद्वारा निष्कर्ष प्रस्तुत गरिएको छ । यस अध्ययनबाट सामाजिक न्यायका दृष्टिले नारी र पुरुष दुवै बराबर भएको हुँदा छोरीलाई पनि छोरासरह सम्पत्ति र वंशाधिकार हुनुपर्छ भन्ने नारीवादी विचार स्थापित भएको निष्कर्ष प्राप्त भएको छ ।