गौरी खण्डकाव्यमा अङ्गरस र अङ्गीरसको सहस्थिति
DOI:
https://doi.org/10.3126/ss.v10i1-2.68622Keywords:
अङ्गरस , अङ्गीरस , अनङ्गरस , अभिव्यञ्जना, अभीष्ट , आलम्बन , साधारणीकरणAbstract
गौरी खण्डकाव्य माधव घिमिरेद्वारा पत्नीवियोगलाई विषय बनाई लेखिएको उत्कृष्ट काव्य हो । कविपत्नी गौरीको बाइस वर्षकै अल्पायुमा भएको असामयिक निधन र त्यसबाट आहत परिवारको शोकावस्थालाई केन्द्रीय कथ्य बनाउँदै साधारणीकरण गर्नु प्रस्तुत काव्यको अभीष्ट देखिन्छ । प्रस्तुत लेख गौरी खण्डकाव्यमा प्रयुक्त अङ्गरस र अङ्गीरसको स्थिति निरूपणको अध्ययनमा आधारित छ । यसका लागि आवश्यक सामग्रीहरूको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ भने काव्यविवेचनामा विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । यसको विषयवस्तु कम शृङखलाबद्ध भए पनि आफ्नो जन्मथलोमै दुःखजिलो गर्ने मध्यम वर्गीय परिवारका कविदम्पती जागिरका लागि काठमाडौँ आएको र डेरामा बसेर गुजारा गर्ने क्रममा दुई छोरीकी आमा नायिका गौरीको निधन भई विष्णुमती घाटमा जलाउँदा र तत्पश्चात् व्यक्त आलापहरूको चित्रणमा केन्द्रित छ । नायक–नायिका लमजुङबाट बसाइ सरेर आएपछि नायिका गौरीको निधनसम्मका प्रसङ्गहरूमा विभिन्न स्थायीभाव अभिव्यक्त भएका छन् । तीमध्ये काव्यको आरम्भबाट नै परिपाकको अवस्थामा पुगेकाले शोक यस कृतिको मुख्य स्थायीभावका रूपमा रहेको छ । यसमा प्रमुख अङ्गरसका रूपमा करुणविप्रलम्भ शृङ्गार स्मर्यमाण रूपमा ठाउँ ठाउँमा विकसित हुँदै करुणरसमा पर्यवसित भएको छ । यसै गरी अबोध टुहुरा छोरीहरूको दैन्य अवस्थाको चित्रण हुँदा दोस्रो प्रमुख अङ्गरस वात्सल्य बारम्बार उद्बुद्ध–उद्दीप्त–अभिव्यक्त हुँदै करुणरसको परिपाक गराउन सहयोगी बन्न पुगेको छ । खण्डकाव्यकारले मूल अभीष्ट सिद्धिका लागि विविध भावको आधानबाट करुणरसको अभिव्यञ्जना गरेका छन् । काव्यमा प्रयुक्त स्थायीभावका साथै विभाव, अनुभाव एवं व्यभिचारी भावजस्ता रसतत्त्वले जागृत भई आ–आफ्ना रसका साथै अङ्गीरस करुणको परिपाकमा उपकारकको भूमिका खेलेका छन् । यसै गरी कथावस्तु, पात्र, परिवेश आदि खण्डकाव्यतत्त्वले पनि रसनिर्माणमा पोषकको काम गरेका छन् । अतः प्रस्तुत खण्डकाव्यमा प्रयुक्त शृब्गार, वात्सल्य, शान्त, भयानक आदि अङ्गरस एवं तत्तत् रसका सञ्चारीभाव प्रसङ्गानुसार जागृत–उद्बुद्ध भई अन्त्यमा करुणरसको सहयोगी बन्दा अङ्गीरसका रूपमा करुणरस स्थापित भएको यथार्थलाई उदाहरणद्वारा पुष्टि गरिएको छ ।