इथरमा कोरिएको प्रेमपत्र नाटकमा विचार
DOI:
https://doi.org/10.3126/spandan.v14i2.74866Keywords:
बौद्धिकता, प्रयोगवादी, आणविक, पारमाणविक, मानवतावादAbstract
प्रस्तुत लेख ‘इथरमा कोरिएको प्रेमपत्र’ नाटकमा प्रयुक्त विचारको अध्ययनमा केन्द्रित रहेको छ । यस लेखमा प्राथमिक स्रोतको सामग्रीका रूपमा सरुभक्तको ‘इथरमा कोरिएको प्रेमपत्र’ नाटकलाई लिइएको छ भने द्वितीयक स्रोतका सामग्रीका रूपमा सरुभक्तका बारेमा गरिएका अध्ययनलाई लिइएको छ । यसमा दुवै प्रकृतिका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यस लेखमा नाटकको विधातत्वअन्तर्गत विचार तत्वलाई सैद्धान्तिक आधार बनाएर नाटकको विश्लेषण गरिएको छ । नेपाली नाटक जगत्का प्रयोगवादी नाटककारका रुपमा परिचित सरुभक्तको ‘इथरमा कोरिएको प्रेमपत्र’ मानवपात्र र मानव निर्मित (रोबोट) पात्रलाई लिएर प्रयोगवादी शैलीमा लेखिएको विज्ञान विषयक नाटक हो । यसमा विज्ञानले आविष्कार नगरिसकेको न्युक्लियर ब्याक्टेरियोलोजीको स्वपरिकल्पित सिद्धान्त प्रस्तुत गरिएको छ । यसमा वैज्ञानिक उन्नति र प्रगतिको व्यापक चित्रण, मानव समाज र सभ्यताको उपलब्धि सङ्कटमा पर्दै गएको अवस्था, वैज्ञानिक खोज, अनुसन्धान र उपलब्धिले मानव–मानवमा ईष्र्या, लोभ, हिंसा, विद्रोहको भाव जगाएको, मानव ब्रह्माण्डको खोज र स्वामित्वप्राप्तिका लागि छटपटाइरहेको अवस्था आदिलाई देखाइएको छ । मानवीय स्वतन्त्रतालाई सर्वश्रेष्ठ चिन्तन बनाउने विचार व्यक्त भएको यो नाटक प्रयोगवादी कित्ताको नाटक भएको निष्कर्ष निकालिएको छ ।