स्नातकोत्तर तहको परीक्षण प्रक्रियामा विश्वसनीयता र वैधता
DOI:
https://doi.org/10.3126/sampreshan.v8i1.75218Keywords:
परीक्षण, परीक्षा प्रणाली, विश्वसनीयता, बैधता, सेमस्टरAbstract
यस लेखमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तहको सेमेस्टर प्रणालीमा आधारित परीक्षण प्रक्रियाको विश्वसनीयता तथा वैधताप्रति शिक्षक तथा शिक्षार्थीको दृष्टिकोणलाई प्रस्तुत गरिएको छ । क्षेत्रीय सर्वेक्षण विधिमा आधारित भई मतावलीलाई तथ्य सङ्कलनको साधन बनाइएको यस अध्ययनमा यादृच्छिक नमुना छनोट प्रक्रिया अवलम्बन गरिएको छ । यसमा शिक्षाशास्त्र, स्नातकोत्तर तहमा अध्ययनरत १२० जना शिक्षार्थी तथा उक्त तहमा अध्यापनरत ४० जना शिक्षकलाई नमुनाका रूपमा लिई उनीहरूको अभिमतको विश्लेषण गरिएको छ । सेमेस्टरको परीक्षा प्रणाली विश्वसनीय छ भन्ने कथनमा शिक्षक तथा शिक्षार्थीको समष्टिमा ३८.१ प्रतिशत सकारात्मक, १४.४ प्रतिशत तटस्थ तथा ४७.५ प्रतिशत नकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । यसले परीक्षा प्रणाली विश्वसनीय हुन नसकेको अवस्था उद्घाटन गर्छ । शिक्षक तथा शिक्षार्थीको पृथकीकृत तथ्य हेर्दा ३३.३३ प्रतिशत शिक्षार्थी र ५२.५ प्रतिशत शिक्षकको मात्र सकारात्मक अभिमत प्राप्त भएकाले परीक्षाको विश्वसनीयता कमजोर बन्छ । त्यस्तै, परीक्षाको वैधताका सवालमा प्राप्त प्रतिक्रिया पनि अनपेक्षित देखिन्छ । उक्त कथनमा शिक्षक तथा शिक्षार्थीको समष्टिमा ३९.४ प्रतिशत सकारात्मक, २०.६ प्रतिशत तटस्थ तथा ४० प्रतिशत नकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । शिक्षक तथा शिक्षार्थीको पृथकीकृत तथ्य हेर्दा ३५.८३ प्रतिशत शिक्षार्थी र ५० प्रतिशत शिक्षकको मात्र सकारात्मक अभिमत प्राप्त भएकाले परीक्षाको वैधता पनि कमजोर रहेको पाइन्छ । यस अनुसन्धानमा प्राप्त प्रतिक्रिया हेर्दा सेमेस्टरको परीक्षा प्रणालीमा विश्वसनीयता र वैधता कमजोर रहेको पुष्टि हुन्छ । शिक्षक एवम् शिक्षार्थी दुवै वर्गबाट सेमेस्टरको परीक्षण प्रक्रियामा विश्वसनीयता र वैधताको स्थिति कमजोर रहेको दृष्टिकोण प्राप्त भएकाले परीक्षासँग सम्बद्ध पक्ष सचेत बन्नुपर्ने देखिन्छ ।