साल्गीका बलात्कृत आँसु कथामा क्षण, जाति र पर्यावरण
DOI:
https://doi.org/10.3126/sampreshan.v8i1.75212Keywords:
त्रितत्व, पण्यीकरण, पर्याबरण, प्रजाति, स्मतिबिम्ब, स्मृतिविम्बAbstract
प्रस्तुत आलेख कथाकार पारिजातद्वारा रचित ‘साल्गीको बलात्कृत आँसु’ कथाको समाजशास्त्रीय अध्ययनमा आधारित छ । प्रसिद्ध चिन्तक हिप्पोलाइट तेनको साहित्य विश्लेषणसम्बन्धी समाजशास्त्रीय आधार पहिल्याई उक्त कथाको रचनाकालीन युगचेतना, प्रजातिगत विशिष्टता र पर्यावरणीय विविधताको तथ्यगत पहिचान गर्नु यस लेखको उद्देश्य हो । पुस्तकालयीय अध्ययन एवम् समीक्षात्मक कार्यका आधारमा गुणात्मक अनुसन्धान विधि उपयोग गरी तथ्य सङ्कलन गरिएको छ । गुणात्मक विधिद्वारा पाठभित्रबाट चुनिएका अंशको अध्ययन गरी सामान्यीकृत निष्कर्ष निकालिएको छ । यस लेखमा स्थापित सिद्धान्तका आधारमा कथाको अध्ययन गरिएको हुँदा मूलतः निगमनात्मक विधिको प्रयोग गरिएको छ भने रचनाकृति विश्लेषणका सन्दर्भमा आगमनात्मक विधि अपनाइएको छ । तेनद्वारा स्थापित त्रितत्वसम्बन्धी मान्यताका आधारमा विश्लेषण गरिएको यस कथामा पितृसत्तात्मक सामन्ती राज्यव्यवस्थाको ऐतिहासिक कालखण्ड, विकट पहाडी ग्रामीण र सहरी पर्यावरणका प्रजातिगत विशेषता समेटिएका छन् । प्रस्तुत कथा पुरुषप्रधान सामाजिक संरचनाअन्तर्गत महिलामाथि हुने गरेको लैङ्गिक शोषण, उत्पीडन र नारीशरीरको पण्यीकरण संस्कृतिको दस्ताबेज बनेको छ । त्यस्तो विद्रूपताको अनावरण गर्दै उक्त अवस्थाबाट उन्मुक्तिको सञ्चेतना उद्बोधन हुन थालेको युगचेतना सम्प्रेषण गर्न सफल ‘साल्गीको बलात्कृत आँसु’ नारीकेन्द्रित सामाजिक यथार्थवादी कथा हो भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।