आमसञ्चारमा अलगावको प्रभाव

Authors

Keywords:

अलगाव, मिडिया, विश्वव्यापीकरण, श्रमजीवी, सञ्चारमाध्यम

Abstract

सञ्चारका विभिन्न माध्यमबाट व्यापक तथा विविध पाठक, दर्शक तथा श्रोतासमक्ष सूचनाको सम्प्रेषण गर्ने समष्टिगत प्रक्रिया नै आमसञ्चार हो । यो आमसञ्चारको काम अहिले इतिहासमै सर्वाधिक अनिश्चिततामा फसेको यस क्षेत्रका अभ्यास तथा अनुसन्धानकर्ताहरूले अनुभव गरिरहेका छन् । यसका पछाडि मूलतः सञ्चारप्रविधिमा आएको प्रतिमान परिवर्तन सर्वप्रमुख कारकको रूपमा देखा परेको छ । यसै पनि ऐतिहासिक रूपमा अलगावको अनुभूति गरिरहेका श्रमजीवी सञ्चारकर्मीहरूमा यो प्रतिमान परिवर्तनले थप मार पारेको स्पष्ट छ । आफ्नो व्यक्तित्व, समाज र कार्यबाट छट्टिएको वा एकान्तिएको कारणले आफूलाई शक्तिहीन र मूल्यविहीन ठान्ने अवस्थामा पुर्याउने गरी सामाजिक, आर्थिक, राजनीतिक वा मनोवैज्ञानिक कारणले आफैँ वा अरूबाट अलग्गिने वा टाढिने प्रक्रिया नै अलगाव हो । यो प्रक्रियाले आमसञ्चारका श्रमजीवीलाई अहिले अलगावको भावनाबाट थप ग्रस्त पारेको छ । विश्व पुँजीवाद र यसको नाफाउन्मुख चरित्रले विश्वव्यापी सञ्चारमाध्यमलाई उत्पादनका साधनको रूपमा प्रयोग गर्दछ र त्यसमा कार्यरत सञ्चारकर्मीहरूको शोषण गरी अतिरिक्त मूल्यको सिर्जना गर्दछ । विश्वका एक प्रतिशत धनाढ्यको मातहतमा विश्वभरका मानिसको भन्दा दोब्बर सम्पत्ति छ । विश्वको कुल सम्पत्तिको आधाभन्दा बढी हिस्सा आठ जनाको हातमा छ । यीमध्ये छ जना अमेरिकी हुन् जसमध्ये पनि चार जना आम सञ्चारमाध्यमका मालिक हुन् । विश्वका १० प्रतिशत मानिससँग विश्वको ७६ प्रतिशत सम्पत्ति छ र यसको आधा त आम सञ्चारमाध्यमका मालिकहरूकै छ । आमसञ्चार कम्पनीहरूले नाफा कमाइरहँदा यिनका कर्मचारीहरू गरिबी र बेरोजगारीको सिकार बनिरहेका छन् । आधुनिक प्रविधिको प्रयोग र नाफामुखी प्रवृत्तिका कारण प्रत्येक वर्ष यिनमा कार्यरत कामदारहरू अलगाव (एलिनेसन) को सिकार हुँदै छन् । यो प्रवृत्ति नेपालको हकमा पनि दृष्टिगोचर हुन्छ । द्वितीयक तथ्याङ्क प्रयुक्त
यस लेखमा सञ्चारमाध्यम र तिनका श्रमजीवीहरूको वर्तमान अवस्था र अलगावको थप प्रभावलाई श्रमजीवी पत्रकारसमेत रहेका दार्शनिक कार्ल मार्क्सको अलगावको सैद्धान्तिक कोणबाट विवेचना गरिएको छ ।.यसअनुसार.अलगावको प्रक्रियालाई सम्बोधन गर्ने यथोचित विकल्प समयमै नखोज्ने हो भने आमसञ्चारका क्षेत्रमा रहेको वर्तमान द्वन्द्वात्मक श्रमसम्बन्धमा मात्र परिवर्तन आउने नभई समग्र आमसञ्चार जगत् नै नयाँ प्रतिमान परिवर्तन (प्याराडाइम सिफ्ट) को साक्षी हुनुपर्ने चुनौती देखिएको छ ।

Abstract
108
PDF
50

Downloads

Published

2025-11-13

Issue

Section

समाजशास्त्रीय अध्ययन Sociological Studies

How to Cite

Gyanwali, G. P., & Dhungel, B. P. (2025). आमसञ्चारमा अलगावको प्रभाव. Prajna प्रज्ञा, 126(1), 253-266. https://doi.org/10.3126/prajna.v126i1.86376