लालचुडी उपन्यासमा पुरुषवादी वैचारिकता
DOI:
https://doi.org/10.3126/ppj.v4i01.70267Keywords:
लैङ्गिकता, प्रभुत्वशाली, लैङ्गिक उत्पीडन, अधीनस्थता, हिंसाAbstract
प्रस्तुत लेख कृष्ण अविरलको लालचुडी (२०७४) उपन्यासमा पुरुषवादी वैचारिकता शीर्षकमा केन्द्रित रहेको छ । पुरुषवादी वैचारिकताको अर्थ सामाजिक सांस्कृतिक संरचनामा पुरुषको विचारको हावी हुनु हो, जुन पितृसत्तासँग सम्बन्धित रहेको छ । सांस्कृतिक विमर्शात्मक संरचनामा पुरुषको हालीमुहाली हुनुका साथसाथै निर्णय प्रक्रियासमेतमा पुरुषकै वर्चस्व कायम हुनु नै पुरुषवादी मानसिकताको परिचायक हो । पुरुषवादी मानसिकताले पितृसत्तात्मक विचारलाई इङ्गित गर्दछ । यसमा पुरुषको वर्चस्व र सर्वोपरिता हुन्छ भने महिलाको अधीनस्थता र गौणता हुन्छ । यसलाई प्रस्ट्याउनका निम्ति पितृसत्ताबारे केलाउनु उपयुक्त हुन्छ । पितृसत्ता घरपरिवारदेखि सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा पुरुष सर्वोच्चतामा आधारित अवधारणा हो । पितृसत्तात्मक समाजमा निर्णायक भूमिकामा रहने पुरुषहरूले लैङ्गिकताका आधारमा महिलाहरूप्रति असमान व्यवहार, लैङ्गिक उत्पीडन र हिंसा गर्नुका साथै प्रभुत्वशाली उपस्थिति समेतलाई जनाउँदछ । पितृसत्तालाई जैविक लिङ्गले भन्दा पनि सामाजिक लिङ्गले प्रभाव पार्दछ । पितृसत्ताले परिवारमा ज्येष्ठ पुरुष सदस्यलाई ‘नाइके’ मान्दछ र बाँकी अरू पुरुष तथा महिला सदस्यहरू त्यसको मातहतमा आज्ञापालक सदस्यका रूपमा काम गर्छन्। त्यतिमात्र नभएर यस्तो अवधारणा परिवारका पुलिङ्गी सदस्यलाई शक्तिशाली र पथ प्रदर्शक मानेको हुन्छ भने सोही आधारमा पुरुष सदस्यले परिवारका अरू सदस्यहरू विशेष गरी महिलाहरू माथि प्रभुत्वशाली तथा दमनकारी व्यवहार गर्छन् । पितृसत्ता हावी भएको सांस्कृतिक संरचनामा परिवारको अगुवा पुलिङ्गी सदस्यले अधीनस्थ स्त्रीलिङ्गी सदस्यहरू माथि शासन, शोषण, दमन र हिंसा गर्दछ । पितृसत्तात्मक सामाजिक संरचनामा शक्तिसम्बन्धका हिसाबले परिवारमा पुरुष सदस्यहरू अपेक्षाकृत महिला सदस्यहरूभन्दा बढी क्रियाशील र शक्तिशाली हुन्छन् । यस्तो सामाजिक संरचनामा पुरुषको अधिक प्रतिनिधित्व गराइएको हुन्छ भने महिलाको न्यून प्रतिनिधित्व गराइएको हुन्छ ।