रसप्रयोगका दृष्टिले मुनामदन खण्डकाव्य
DOI:
https://doi.org/10.3126/pp2.v2i3.90983Keywords:
अभिव्यञ्जना, उद्बुद्ध, रससामग्री, परिपाक, स्थायीभावAbstract
लक्ष्मीप्रसाद देवकोटाद्वारा नेपाल भाषाको एउटा कथात्मक गीतलाई प्रेरणास्रोतका रुपमा ग्रहण गरी सिर्जित मुनामदन मुना र मदनको शाश्वत प्रेमको महिमा गायन गरिएको सर्वाधिक लोकप्रिय अमर कृति हो । आत्मिक प्रेम शाश्वत हुन्छ भन्ने केन्द्रीय कथ्यलाई आधारभूमि बनाई समाजलाई मानवता र कर्ममा प्रवृत्त गराउनु प्रस्तुत काव्यको अभीष्ट देखिन्छ । प्रस्तुत अनुसन्धानात्मक लेख मुनामदनमा के–कस्ता भाव तथा रसको प्रयोग कसरी गरिएको छ भन्ने मूल समस्या समाधानका लागि भएकाले यसमा विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । नायक मदन पत्नी मुनाले धनको पछि लागेर मनको सन्तुष्टि नत्याग्न अनेक आग्रह गर्दा पनि आर्थिक कमजोरीका कारण त्यसको पर्वाह नगरी परदेश गएपछि पत्नी र आमाको निधन भएको र उनीहरूको विरहमा नायककै पनि मृत्यु भएको कारूणिक अवस्थाको चित्रणमा यसको कथावस्तु टुङ्गिएको छ । उल्लिखित घटना तथा प्रसङ्गहरुमा विभिन्न भाव तथा रस अभिव्यक्त हुँदै काव्यको अन्त्यमा पुग्दा कृति कारूणिक एवं दुःखान्त बनेको पाइन्छ । यसको मुख्य स्थायीभाव शोक अभिव्यक्त भई करूणरस परिपाक भएपछि अन्य रस तथा भावहरु करूणमै पर्यवसित हुन पुगेको देखिन्छ । खण्डकाव्यकारले मूल अभीष्टसिद्धिका लागि विविध भावको आधान गर्दै करूणरसको अभिव्यञ्जना गरेका छन् । खण्डकाव्यमा प्रयुक्त विप्रलम्भ शृङ्गार, संयोग रति, रौद्र, वीर, भयानक, अद्भुत, शान्त र वात्सल्यरस जस्ता अङ्गरस र भक्ति,परारतिभाव साथै काव्यमा प्रयुक्त रसका विभाव, अनुभाव तथा सञ्चारीभाव घटना तथा प्रसङ्गानुसार जागृत उद्दीप्त–अभिव्यक्त हुँदै अन्त्यमा करूणरसलाई कृतिको अङ्गीरसका रुपमा स्थापित गराउन सहकारी बनेका छन् । कृतिमा प्रयुक्त अङ्ग र अङ्गीरसको दृष्टान्तद्वारा पुष्टि गरिएको छ ।