सहिद कथामा आञ्चलिकता
DOI:
https://doi.org/10.3126/oj.v3i4.91090Keywords:
दुव्र्यवहार, जीवनशैली, अत्यचार, अन्धविश्वासAbstract
प्रस्तुत लेख गुरूप्रसाद मैनालीको ’नासो’ कथा सङ्ग्रहमा सङ्गृहीत ’सहिद’ कथामा विद्यमान आञ्चलिकताको विश्लेषणमा केन्द्रित छ । कथाकार गुरूप्रसाद मैनालीका कथामा सामाजिक यथार्थवाद र परिवेश चित्रणका बारेमा पर्याप्त अध्ययन भएको पाइए तापनि ’सहिद’ कथालाई आञ्चलिकताको सैद्धान्तिक दृष्टिकोणबाट गरिएका अध्ययनहरू न्यून छन् । मैनालीको सहिद कथामा रहेको आञ्चलिकताको समस्यालाई यस लेखले उठान गरेको छ । कथामा प्रयोग गरिएको भाषिक, सामाजिक, सांस्कृतिक र वातावरणीय आञ्चलिकताको पहिचान गरी उक्त कुराको विश्लेषण गर्नु यस अध्ययनको मुख्य उद्देश्य रहेको छ । प्रस्तुत अध्ययनमा आञ्चलिकताको अवधारणालाई सैद्धान्तिक आधार मानिएको छ । स्रोतका रूपमा ’सहिद’ कथा प्राथमिक र सम्बन्धित पुस्तक, जर्नल र लेखहरू द्वितीयक स्रोतका रूपमा उपयोग गरिएको छ । सङ्कलित सामग्री विश्लेषणका लागि गुणात्मक तथा वर्णनात्मक विधि अवलम्बन गरिएको छ । अध्ययनका क्रममा ’सहिद’ कथामा नेपालका ग्रामीण क्षेत्रका विराटनगर, कोसीनदीको कुशाहघाट, पोखरा, नुवाकोट र भारतका वनारस, गोरखपुर, पटना, लखनउ आदि शहरहरूको परिवेश, ठेट नेपाली बोली, ग्रामीण कृषिमा आधारित जीवनशैली र श्रमिकहरूको संघर्षमार्फत सशक्त आञ्चलिकता प्रस्तुत भएको निष्कर्ष निकालिएको छ । प्रस्तुत लेखले आञ्चलिकताको क्षेत्रमा अध्ययन अनुसन्धान गर्न चाहने अनुसन्धानकर्ता,शिक्षक–विद्यार्थी लगायत यस विषयमा चासो राख्ने सबैका लागि उपयोगी हुनुका साथै सहयोगी हुने कुरामा विश्वास राखिएको छ ।