अनुसन्धानको रैथानीकरण
DOI:
https://doi.org/10.3126/naj.v4i1.83558Keywords:
अनुसन्धान, खोज, गवेषण, गैह्रउपनिवेशवादी, पश्चिमी ज्ञान, पूर्वीय ज्ञान, ब्रह्मAbstract
प्रस्तुत आलेख अनुसन्धानको रैथानीकरण वा स्थानीयकरणका विषयमा केन्द्रित रहेको छ । खोज मानवीय प्रवृत्ति हो र त्यसमा क्रम मिलाउनासाथ अनुसन्धान हुन्छ । यसरी धर्मशास्त्र पढने हो भने अनेकौँ खोज भेटिन्छन् । अनुसन्धान भेटिन्छन् र अध्ययन विधि भेटिन्छन् । रैथाने ज्ञानमा गहिरिने हो भने पनि धेरै कुराको रहस्य खुल्छ । यो प्राज्ञिक काम हो । हामीले गर्नुपर्ने । गराउनुपर्ने । पहिचानवादी भएर । सर्जक भएर । पश्चिमाको अभ्यासबाट सिकेर । पश्चिमालाई सिकाउने बर्गत लिएर । रैथाने कुरा खोज्नुपर्छ भन्ने मानसिकता बोकेर । प्रस्तुत लेखले यही कुरा खोजेको छ । लेखमा पूर्वीय दर्शनलाई अनुसन्धानको दर्शन बनाउने तरिका छ । सिद्धान्त बनाउने तरिका छ । विधि बनाउने तरिका छ । पूर्वीय तथा पश्चिमी कित्तामा बाँडिएका दर्शन, सिद्धान्त तथा विधिहरूलाई अनुसन्धान गर्ने गराउने तथा पढने पढाउनेहरूले जोड्न जोडाउन सक्छौँ भन्ने धारणा छ । षड्दर्शनमा आधारित अनुसन्धान विधिलाई पश्चिमा विधिको समकक्षमा उभ्याउने उपाय दिइएको छ । रैथाने ज्ञानमा शोधविधि खोज्ने तरिकाको सङ्केत गरिएको छ । त्यसमा क्रमबद्धता थपेर खोजलाई अनुसन्धानविधि बनाउने पद्धतिहरू सुझाइएको छ । हाम्रा उखान–टुक्कामा आधारित भएर अध्ययन गर्न मिल्ने कुरा अभिव्यक्त गरिएको छ । रैथाने अनुसन्धानलाई आधुनिकीकरण, वैज्ञानिकीकरण तथा विस्तारीकरण गर्नमा संस्थागत प्रयास गरेनछौँ भन्ने सन्देश छ र एकल प्रयासहरू असफल भएको सन्देश छ । यस्तो प्रयासले आफ्नोपनको अनुसन्धानविधि बन्छ । पश्चिमी जगत्मा हाम्रा विधिहरूले स्थान पाउने सम्भावना पनि बढ्छ । पश्चिमाहरूले पनि यही तरिकाले नवीन दर्शन, सिद्धान्त, तथा शोधविधि बनाएका हुन् भन्ने कुराको जानकारी छ ।