पहेँलो गुलाफ’ कथामा यौनमनोविज्ञान

Authors

  • महेन्द्रप्रसाद ढकाल Koteshwor Multiple Campus
  • मदन गौतम Koteshwor Multiple Campus

DOI:

https://doi.org/10.3126/kmcnj.v6i1.91199

Keywords:

अचेतन, अवचेतन, यौनबिम्ब, पाठ्यकेन्द्रित

Abstract

प्रस्तुत लेखमा प्रेमा शाहको चर्चित कथा ‘पहेँलो गुलाफ’ लाई यौन मनोविज्ञानको दृष्टिकोणबाट विश्लेषण गरिएको छ । कथामा प्रस्तुत विवाह संस्था, नारी शरीर, यौनिक चाहना तथा दमनका मनोवैज्ञानिक पक्षहरूलाई सिग्मन्ड फ्रायडको मनोविश्लेषण सिद्धान्त, नारीवादी चिन्तक सिमोन द बोउभारको अवधारणा तथा मिचेल फुकोको यौनसत्ता विमर्शका आधारमा अध्ययन गरिएको छ । गुणात्मक तथा पाठ–केन्द्रित अनुसन्धान विधि प्रयोग गरी कथाका पात्रहरूमा विद्यमान अतृप्त यौन चाहना, मानसिक द्वन्द्व र नारी यौनिकताको दमनलाई उजागर गरिएको छ । अध्ययनले विवाहभित्र पुरुष यौनिक वर्चस्वका कारण नारी शरीर केवल यौन सन्तुष्टिको माध्यममा सीमित भएको देखाएको छ । ‘पहेँलो गुलाफ’ ले प्रेमको कोमलताभन्दा पनि रोग, क्षय र विवशताको मनोवैज्ञानिक अवस्थालाई सङ्केत गरेको छ । यस कथाले नारी शरीरलाई जैविक अस्तित्वभन्दा माथि उठाएर यौन र पितृसत्तात्मक विमर्शको केन्द्रका रूपमा व्याख्या गरेको छ । फ्रायडीय सिद्धान्तका आधारमा विश्लेषण गर्दा कथाकी पात्रको रुग्ण शरीर र पतिको अतृप्त कामेच्छाबिचको द्वन्द्वले अचेतन मनको दमित कुण्ठा र मृत्युलाई सङ्केत गरेको छ । सिमोन द बोउभारले उल्लेख गरेझैँ, विवाह संस्थाभित्र नारीलाई वस्तुकरण गरिएको यथार्थ यहाँ मुखरित छ । मिचेल फुकोको यौनको अवधारणालाई आत्मसात गर्दै कथाले कसरी पुरुषसत्ताले नारीको शारीरिक रुग्णतालाई समेत उपेक्षा गरी आफ्नो यौनिक वर्चस्व स्थापित गर्छ भन्ने तथ्यलाई उजागर गरेको छ । पहेँलो गुलाफ केवल एक बिरामी नारीको डायरी नभई यो कामुक पुरुषत्व र अस्तित्ववादी सङ्कटको एउटा दार्शनिक दस्तावेज हो । यसले नेपाली कथा परम्परामा नारी यौनिकतालाई सामाजिक मर्यादाको जन्जिरबाट मुक्त गरी मनोवैज्ञानिक र आलोचनात्मक कोणबाट पुर्नव्याख्या गरेको छ । प्रेमा शाहको पहेँलो गुलाफ कथामा प्रस्तुत यौनिक विमर्श परम्परागत नैतिकताको सीमाभन्दा निकै पर, अस्तित्ववादी र दार्शनिक धरातलमा उभिएको छ । कथाकारले पहेँलो गुलाफलाई केवल एक फूलका रूपमा मात्र नभई, नारीको ओइलाउँदै गएको अस्मिता र शारीरिक उपभोगवादको प्रतीकका रूपमा विनियोजन गरेकी छिन्। । यहाँ कामशक्ति र मुमूर्षाबिचको घर्षणले पात्रको मानसिक क्षयलाई मात्र देखाउँदैन, बरु पुरुषसत्ताले नारीको जैविक पीडालाई समेत कसरी आफ्नो यौनिक रसदमा रूपान्तरण गर्छ भन्ने कटु यथार्थलाई प्रस्तुत गरेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
6
PDF
4

Downloads

Published

2026-02-24

How to Cite

ढकाल म., & गौतम म. (2026). पहेँलो गुलाफ’ कथामा यौनमनोविज्ञान. K. M. C. Nepali Journal के. एम. सी. नेपाली जर्नल, 6(1), 72–78. https://doi.org/10.3126/kmcnj.v6i1.91199

Issue

Section

Articles