‘सम्बन्ध’ कथामा आधार र अधिरचना
DOI:
https://doi.org/10.3126/kmcnj.v6i1.91193Keywords:
पुँजीवाद, वर्गीयता, वर्गद्वन्द्व, वर्गमुक्तिAbstract
प्रस्तुत अध्ययन पारिजातद्वारा लिखित ‘सम्बन्ध’ कथामा आधार र अधिरचनाको अध्ययनमा केन्द्रित छ । यस सन्दर्भमा कथाको विश्लेषणका लागि कार्ल माक्सको ऐतिहासिक भौतिकवादी मान्यतामा आधारित आधार र अधिरचनासम्बन्धी दृष्टिकोणलाई उपयोग गरिएको छ । यसका लागि आधार र अधिरचना गरी दुई ओटा पर्याधार निर्माण गरी त्यसअन्तर्गत पनि पुँजीपति वर्गको नियन्त्रण, शिक्षा र स्वास्थ्यमा अधिरचना जस्ता सूचकहरूमार्फत तथ्यहरूको विश्लेषण गरिएको छ । यस कथामा पुँजीपति वर्गले सर्वहारा वर्गलाई गर्ने गरेको नियन्त्रणलाई प्रस्तुत गरी शासक वर्गले श्रमिक वर्गलाई विभिन्न तवरले शोषण गरिरहने आधार खडा गरेको विचार व्यक्त गरिएको छ । त्यसैगरी कथामा शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि सामन्त वर्गले आफ्नो वर्चश्व कायम गरी शिक्षा र स्वास्थ्यको पहुँच उच्च वर्गमा मात्र सीमित रहेको अवस्था देखाइएको छ । आर्थिक आधार कमजोर भएका निम्न वर्गीय श्रमजीवी जनताहरू आर्थिक आधार सब भएका उच्च वर्गीय पुँजीपति शासक वर्गबाट निर्माण गरिएका सैद्धान्तिक तथा व्यावहारिक अधिरचनाबाट अन्याय, अत्याचार, उत्पीडन, चिथोमिचो र विभेदमा परेको अवस्था ‘सम्बन्ध’ कथाले देखाएको छ र यो कथालेखन कालको समाज व्यवस्थाको वास्तविक चित्रका रूपमा स्थापित भएको निचोड यस अध्ययनबाट प्राप्त भएको छ ।