कर्मसिद्धान्तका दृष्टिमा ‘ऋतुविचार’ खण्डकाव्य
DOI:
https://doi.org/10.3126/kmcnj.v5i5.73760Keywords:
ऋतुविचार खण्डकाव्य, पौरस्त्य दर्शन, अलङ्कार्यAbstract
ऋतुविचार खण्डकाव्यलाई पौरस्त्य दर्शनको कर्मसिद्धान्तका आधारमा विवेचना गरिएको यस अनुसन्धानात्मक लेखका निम्ति आवश्यक सामग्री पुस्तकालयीय स्रोतबाट सङ्कलन गरिएको छ र सैद्धान्तिक आधारको निर्माणमा निगमनात्मक विधिको प्रयोग गरिएको छ । यस क्रममा क्रमशः उपनिषद्, साङ्ख्य, योग, न्यायवैशेषिक, मीमांसा, वेदान्त र बौद्ध दर्शनका कर्मसिद्धान्तसम्बन्धी स्थापनाहरूको अनुशीलन गरिएको छ । सैद्धान्तिक अनुशीलनपश्चात् ऋतुविचार खण्डकाव्यको सूक्ष्मपठन गरी कर्मसिद्धान्त अभिव्यञ्जित प्रमुख श्लोकहरू ठम्याएर तिनीहरूको विश्लेषण गरिएको छ । अन्त्यमा ऋतुविचार खण्डकाव्यको मूल अलङ्कार्य विषय परिवर्तनमूलक ऋतुचव्रसम्बन्धी प्रकृतिचित्रण रहे पनि अध्यात्मसम्बन्धी विषयगत विम्बहरू प्रकृतिचित्रणका सन्दर्भमा नै आएका छन् र काव्यमा अध्यात्मसम्बन्धी विषयगत विम्बहरूले पनि प्राकृतिक परिवर्तनमूलक ऋतुचक्र सम्बन्धी मूल विषयवस्तुभित्र नै स्थान पाएका छन् । यस खण्डकाव्यमा पौरस्त्यदर्शनको कर्मसिद्धान्तसम्बन्धी चिन्तन पनि अलङ्कार्यका रूपमा नभएर अलङ्कारका रूपमा व्यक्त भएको छ । यसरी लेखनाथको ऋतुविचार खण्डकाव्यमा सशक्त रूपमा अभिव्यञ्जित पौरस्त्यदर्शनको कर्मसम्बन्धी चिन्तनमा उनको अध्ययन, श्रवण, मनन तथा निदिध्यासनका साथै पूर्वसंस्कारको प्रभावसमेत देखिन्छ भन्ने निष्कर्ष दिइएको छ ।