ईश्वरलाई चिठी कवितामा विचार र कलाको संयोजन
DOI:
https://doi.org/10.3126/jjmc.v3i1.66109Keywords:
अलङ्कार, श्रुतिमधुर, सौन्दर्यपरक, लयात्मकताAbstract
ईश्वरलाई चिठी कवितामा विचार र कलाको संयोजन कुन रूपमा भएको छ भन्ने कुरामा केन्द्रित रही यो लेख तयार गरिएको छ । विचार र कलाका विविध पक्षहरूको सैद्धान्तिक अध्ययनका लागि विभिन्न सामग्रीहरूलाई द्वितीयक स्रोतका रूपमा सङ्कलन र अध्ययन गरिएको छ । त्यही सैद्धान्तिक आधारमा प्राथमिक स्रोतका रूपमा रहेको ईश्वरलाई चिठी कविताको विचार र कलाको संयोजनको विश्लेषण गरिएको छ । कविताको विचार र कलाको संयोजनका अध्ययनका लागि विचारतर्फ शीर्षक, भाव वा विषयवस्तुलाई आधार मानेर र कलातर्फ भाषाशैली, छन्द र लय विधान, बिम्बविधान, रसविधान तथा अलङ्कारका आधारमा विश्लेषण गरिएको छ । ईश्वरलाई चिठी कविता विचारका दृष्टिबाट हेर्दा ईश्वरीय चेत वा अध्यात्मवादी चेत भरिएको कविता देखिन्छ । ईश्वर जताततै भएर पनि आफूले देख्न नसकेको पुकारा नै ईश्वरलाई चिठी हो । प्रस्तुत कविताको शीर्षक आफैँमा कलापूर्ण पाइन्छ र कवितामा विचारप्रवाह गर्ने भाषाशैली सरल र सुन्दर रहेको छ । प्रस्तुत कविताको विचारअनुसारको छन्दको छनौटमा उपयुक्तता पाइन्छ । त्यस्तै गरी छन्द र विचारअनुसारका सुन्दर बिम्बहरूको छनौटले कवितालाई सुन्दर र आकर्षक बनाएको पाइन्छ । प्रस्तुत कवितामा शान्त रसको प्रयोग भएको छ जुन ईश्वरीय चेत वा अध्यात्मजस्ता विचारमा प्रयुक्त रस हो । कविता विश्लेषणको अर्को पक्ष अलङ्कारका दृष्टिबाट हेर्दा प्रस्तुत कवितामा स्वभावोक्ति, संशय, उपमा, अन्त्यानुप्रास, अतिशयोक्ति, रूपक जस्ता अलङ्कारहरू प्रयोग भएका छन् जुन अलङ्कारहरूले कवितालाई पठनीय र श्रुतिमधुर बनाएका छन् । कवितालाई छन्दअनुसार सुन्दर बनाउने गति र यति हुन् । प्रस्तुत कवितामा गति र यतिको नियम सम्पूर्ण रूपमा पालन गरिएको पाइन्छ । यी माथि प्रस्तुत गरिएका सबै पक्षहरूलाई विश्लेषण गर्दा ईश्वरलाई चिठी कवितामा विचार र कलाको संयोजन रहेको निष्कर्ष निकालिएको छ ।