बान्तावा मातृभाषी विद्यार्थीहरुको नेपाली भाषा सिकाइमा पाइने त्रुटि
Keywords:
उच्चारणगत त्रुटि, त्रुटिविश्लेषण, पदसङ्गतिगत त्रुटि, भाषा सिकाइ, भुल र त्रुटिAbstract
बान्तावा भाषालाई भोटबर्मेली भाषापरिवारको किरात समूहका भाषाहरूमध्ये एक मानिन्छ । बान्तावा मातृभाषी विद्यार्थीहरूले नेपाली भाषालाई दोस्रो भाषाका रूपमा सिक्दा पाइने त्रुटिको अध्ययन गरिएको छ । उक्त विद्यार्थीहरूको नेपाली सिकाइमा पाइने उच्चारणगत तथा
पदसङ्गतिगत त्रुटिहरूको विश्लेषण गरी त्रुटिका कारण र समाधानका उपायहरूको
अनुसन्धान गर्नु यस अध्ययनको उद्देश्य रहेको छ । त्रुटिविश्लेषण सिद्धान्तमा आधारित
नेपालको भोजपुर जिल्लाका हतुवागढी र आमचोक क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत
बान्तावा मातृभाषी विद्यार्थीहरू सहभागी रहेको यस अध्ययनमा प्रश्नाली, अन्तर्वार्ता र लक्षित
समूह छलफलमार्फत सामग्री सङ्कलन गरेर प्राप्त तथ्याङ्कको विश्लेषणात्मक पद्धतिअनुसार
विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ । सम्बन्धित विद्यालयका नेपाली भाषा
शिक्षकहरूसँग लिखित राय तथा अन्तर्वार्तासमेत लिइएको छ । यो अध्ययन नेपाल खुला
विश्वविद्यालयअन्तर्गत एमफिल तह पूरा गर्ने सन्दर्भमा गरिएको अनुसन्धानमा आधारित रहेको
छ ।