किरात राई जातिको मुन्दुममा माङको अध्ययन
Keywords:
बान्तावा, माङ, साम्खामाङ, हेन्खामा, पुर्खाAbstract
आदिवासी किरात राई समुदायको मुन्दुममा ‘माङ’ लाई प्रमुख सृष्टिकर्ताको आधार मानी भौतिक प्रतीकको रूपमा सुप्तुलुङ (तीनचुला) लाई स्थापना गरी पितृ र प्रकृतिको सेवापूजा गर्ने गरिन्छ । मुन्दुम अनुसार चुलामा अन्तर्निहित ‘माङ’ (पितृ लाई भौतिक तथा आत्मिक चैतन्यको सर्वमान्य, सर्वव्यापी, सर्वशक्तिमान, सर्वज्ञाता, अनन्त, अद्वितीय, महाशक्तिको स्रोत मानी पुजिने भएकोले उनीहरूको सांस्कृतिक, सामाजिक साथै प्राकृतिक मूल्य र मान्यतालाई उजागर गर्दै पुनःस्थापना गर्नु नै अध्ययनको मुख्य उद्देश्य रहेको छ । यो विषयगत अध्ययन भएकोले गुणात्मक अनुसन्धान पद्घतिको प्रयोग गरी अर्थपूर्ण व्याख्यात्मक सैद्घान्तिक दृष्टिकोणको प्रक्रिया अपनाइएको छ । अन्तर्वार्ता, अन्तक्रिया साथै पूर्वसाहित्य अध्ययन तथ्याङ्कहरूको स्रोतहरू रहेका छन् । पुर्खा र प्रकृतिको प्रतीक सुप्तलुङ (चुला) लाई आफ्नै
घर माङखिम (पितृघर) मा स्थापना गरी ‘माङ’ लाई ससम्मान राखिएको पाइन्छ । तिनै पुर्खा र प्रकृतिमा अन्तर्निहित आत्मिक चेतनाको प्रकाशजन्य मुख्य चैतन्यस्वरूप साम्खामाङ (कुलपितृ) रहेको देखिन्छ । पारुहाङ र सुम्दिमामाङ मानव सृष्टिकर्ता र निनाम्माहाङ (आकाश) र
हेन्खामामाङ (धर्ती) प्रकृति, चराचर जगतको सृष्टिकर्ताको रूपमा रहेको देखिन्छ । पुर्खाहरूलाई माङको रूपमा मान्नुको अन्तिम अर्थ पितृपुर्खा अर्थात् मानव जाति पनि प्रकृतिकै उपज वा सृष्टि मानिएको देखिन्छ । जन्मदेखि मृत्यु संस्कार सम्म सेवा पूजा गरिने पवित्र आस्थको केन्द्र, दैनिक व्यवहार, संस्कृति, सभ्यता, समय, वस्तु, आत्मा, चेतना, ब्रह्माण्डीय उर्जा नै ‘माङ’ को ताइिभ्वक रूप र मुन्दुमको आधार रहेको देखिन्छ । यो अध्ययनले राई समुदायको सुप्तलुङ (पितृचुला) भित्र अन्तर्निहित मुन्दुममा रहेको ‘माङ’ प्रतिको
सांस्कृतिक मूल्य, मान्यता साथै विश्व दृष्टिकोणलाई नवीन विषयको रूपमा उजागर गरिएको छ ।