धिमाल जातिको परम्परागत संस्था र प्रथाजनित कानून
DOI:
https://doi.org/10.3126/ins.v3i3.80963Abstract
धिमाल समुदायमा बस्ती र सभ्यता निर्माणसँगै धिमाल समाजलाई ऐक्यबद्धता गर्ने, समुदायभित्र सामाजिकसांस्कृतिक–धार्मिक–समुदायगत राजनीतिक नेतृत्व गर्ने, न्याय निसाफ दिने, सुधारका कार्यहरू गर्ने कामका लागि माझिबाराङको नेतृत्वमा बस्ती र समाज सञ्चालन हुँदै आएको प्राचीन इतिहास पाइन्छ । यस संस्थामा नेतृत्व गर्ने पञ्चभलादमी व्यक्तित्वहरूमा माझिबाराङ, धामिबाराङ, हानुवा, ओझा र देराबाराङ पर्दछन् । समुदायभित्र नेतृत्व गर्ने सामाजिक संस्थालाई नै माझिबाराङ समिति भनिन्छ । यस समितिको समाज सञ्चालन गर्ने परम्परागत प्रथागत मौखिक सहमतीय अलिखित कानूनहरू छन् । माझिबाराङ संस्थामार्फत् गरिने विभिन्न कार्यहरूलाई प्राज्ञिक दृष्टिकोणले विश्लेषण गर्दा सामाजिक तथा सांस्कृतिक कार्य, सामाजिक न्याय, सामाजिक राजनीतिक जनचेतना, संस्थागत सुधार तथा कृषि पेसागत सुधारका कार्यहरू सम्पन्न भएका पाइन्छन् । एक गाउँको मुद्दा, मामिला तथा झैझगडा सोही गाउँको माझिबाराङको नेतृत्वमा समाधान हुने प्रावधान पाइन्छ भने ज्यान सम्बन्धी अपराधमा भने चार गाउँका माझिबाराङहरू भेला भैं निर्णय लिने परम्परागत अभ्यास रहेको पाइन्छ । राणा कालमा जमिन्दार, पटवारीहरूले समाजमा नेतृत्व गर्दा चाहि जमिन्दारले न्याय, निसाफ तथा निर्णय दिनुपर्दा पनि गाउँको माझिबाराङलाई अनिवार्य समावेश गर्ने प्रचलन रहेको थियो । हालका दिनमा भने धिमाल जातिको जातिय संस्थाको गाउँटोलको अध्यक्ष र माझिबाराङ समितिका पदाधिकारीहरू सबै बसेर गाउँमा न्याय निसाफ दिने प्रचलन रहेको पाइन्छ । हालसम्म नेपाल सरकार र स्थानीय सरकारले धिमालको माझीबाराङ परम्परागत संस्थालाई वैधानिक कानूनी मान्यता नदिएको अवस्था छ ।