‘वि.सं. २०८१ को मुनामदन’ कथामा विनिर्माण
DOI:
https://doi.org/10.3126/iimrjbc.v3i1.81407Keywords:
विधान्तरण, काव्यात्मक, विधाविघटन, नाटकीयता, पुनर्निर्माणAbstract
प्रस्तुत लेखमा ‘वि.सं.२०८१ को मुनामदन’ कथाको विनिर्माणिक अध्ययन गरिएको छ । विवेच्य कथामा नेपाली साहित्यको चर्चित काव्यकृति मुनामदनको कथ्यसन्दर्भको आख्यानीकरण गर्दै समकालीन परिवेशमा पुनर्सिजन प्रक्रियाद्वारा विनिर्माण गरिएको छ । यसमा साहित्यिक पाठको विनिर्माणका विभिन्न प्रक्रियामध्येको पुनरावृत्ति, विधाभञ्जन, विधामिश्रण, पुनर्लेखन आदि प्रक्रियाद्वारा परम्परित विधागत संरचनाको भञ्जन र पुनःनिर्माण गरिएको छ । विवेच्य कथामा पूर्वपाठका रूपमा रहेको मुनामदन खण्डकाव्यको कथ्यवस्तु र पात्रलाई आधार बनाएर आख्यानको रूपमा विधान्तरण गरिएको छ । यसरी विगतदेखि वर्तमानसम्म पुनरावृत्त नियति बनेको नेपाली युवाहरूको विदेसिनुको व्यथालाई बहुल कथ्यको संयोजन गरी पुनर्निर्माण गर्नु विनिर्माण प्रवृत्ति हो । यस कथामा विनिर्मित सन्दर्भको पहिचान गरी तिनको विश्लेषण गरिएकाले प्रस्तुत अध्ययन गुणात्मक पद्धतिको रहेको छ । यस लेखमा पाठविश्लेषण विधिको प्रयोग गर्दै विभिन्न पुस्तक तथा अन्य स्रोतबाट सामग्री लिएर सैद्धान्तिक आधार निर्माण गरिएको छ । यस कथामा मूलतः पूर्वपाठको कथ्य र पात्रको पुनरावृत्तिद्वारा अमेरिकालाई सपनाको स्वर्ग ठान्ने मानिसहरूको भ्रम तोड्दै अर्थमा समेत विनिर्माण गरिएको छ । यस अध्ययनबाट कथामा आख्यानभित्र आख्यानेत्तर विधाका कवितात्मक एवम् संवादात्मक तत्त्वहरूको प्रयोगका कारणले पनि विनिर्माण प्रवृत्ति देखिएको छ भन्ने तथ्य प्राप्त भएको छ । अतः यस लेखमा पाठकेन्द्री विश्लेषणद्वारा विवेच्य ‘वि.सं.२०८१ को मुनामदन’ कथा पुनर्लेखन प्रक्रियाद्वारा विनिर्मित भएको निष्कर्ष रहेको छ ।