लिच्छविकालिन विद्वत परम्परा
DOI:
https://doi.org/10.3126/hisan.v10i1.74925Keywords:
अवलोकन, विद्वता, स्वर्णयुग, श्रोत्रज्ञ, भाणकAbstract
विद्वानहरूले आपूसित भएको विद्वत् भाव वा विशेष ज्ञानलाई प्रदर्शन गर्ने रीतिलाई विद्वत् परम्परा भनिन्छ । लिच्छविकालिन सौन्दर्यताले विद्वत् परम्परा बुझ्न र वर्तमानलाई अभ्यस्त गराउन गुण धर्मको काम गर्दछ । सत्य प्राप्त गर्नु ज्ञानको मूल ध्येय हो । ज्ञान प्रशारण, समाजिक सेवा, मानवकल्याण, गुठी व्यवस्था, कर प्रणाली , इश्वरीय शक्ति, स्वशासन, तहगत राज्य संरचना, नारी स्वतन्त्रता आदि लिच्छविकालिन समाजको प्रमुख दार्शनिक एवं सैद्धान्तिक पक्ष हुन् । लिच्छविकालिन विद्वत् परम्परा यिनै दर्शन र सिद्धान्त वरपर घुमेको छ । लिच्छविकालिन समाजको संरचनात्मक रुप अर्थात तत्कालीन समाजले सृजना गरेको सामाजिक मान्यता, चलित मूल्य, ब्यवहार, नियम, धारणबाट लिच्छवि समाज निर्माणको मापन गर्न सकिन्छ । यो नै लिच्छविकालिन विद्वत् परम्पराको तत्वमिमांस हो । लिच्छविकालिन सामाजिक संरचनाले विकास गरेको ज्ञान, बुझाई वर्णन गर्न वा तत्कालीन समाज दर्शाउने भएकोले यस लेखमा ब्याख्यात्मक दृष्टिकोणबाट दर्शनलाई प्रयोग गरिएको छ । विद्वत्, विद्या, ज्ञानको वास्तविकता, विद्वता प्रभाव, विद्वताको श्रोत, विद्वताको सामाजिकीकरणको श्रृखलाहरू माथि ऐतिहासिक पद्धति र दृष्टिकोणको आधारमा तत्कालीन समाजलाई हेरि ज्ञान प्रशाारणको भाव बुझाउने जमर्को गरिएको छ । यो नै लिच्छविकालिन विद्वत् परम्पराको ज्ञानमिमांस हो । गुरुकुल, सम्मेलन, परिषद्, सभा, विश्वविद्यालय, विहार, गुम्वा, घ्याङ् विद्वताको माध्यम वा श्रोत हुन् । विद्वता र वौद्धिकताको आलोकमा लिच्छविकालिन ज्ञान विज्ञानको वास्तविकता भेट्न विद्वत् परम्पराको बोध हुनु उत्तिकै आवश्यक छ । लिच्छविकालिन विद्वत् परम्पराको छत्रछाँयामा ज्ञान तत्कालीन समाजमा प्रशारण भएको भेटिन्छ, वास्तुकला, शिलालेख लेखन यसको उदाहरण हो । विद्वानहरूले गरेको अति उत्कृष्ट कार्यको नमूनाको रुपमा विद्वत् परम्परालाई लिन सकिन्छ । यो नै लिच्छविकालिन विद्वत् परम्पराको मूल्यमिमांस हो । तर वर्तमान समाजले यो पक्षमाथि दृष्टिगोचर गरिएको पाइदैन । विश्वका विविध ज्ञान परम्पराहरू जस्तै नेपाली ज्ञान परम्पराको ऐतिहासिक विरासत जीवन्त पार्न प्रमाणित इतिहासको थालनीको अवधि भएकाले लिच्छविकालिन विद्वत् परम्पराको अनुशीलन जरुरी छ । तसर्थ प्रस्तुत अध्ययनको उद्देश्य लिच्छविकालिन विद्वत् परम्पराको खोज र अध्ययन गर्नु रहेको छ ।