नेपाली विषयमा सिकाइ उपलब्धि कम हुनुका कारणहरूको अध्ययन
DOI:
https://doi.org/10.3126/crj.v3i1.76528Keywords:
भाषा शिक्षण, भाषिक सिप, विद्यार्थी सिकाइAbstract
प्रस्तुत लेख भाषा शिक्षणको प्रयोजनसँग सम्बन्धित रहेको छ । यस लेखमा मिश्रित (गुणात्मक तथा परिमाणात्मक ढाँचा र वर्णनात्मक विधिअन्तर्गत रही क्षेत्रीय अध्ययन विधिको अवलम्बन गरेर नतिजा तयार पारिएको छ । यो अध्ययन बनेपा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका माध्यमिक तहमा अध्यापनरत १० शिक्षक र अध्ययनरत १० विद्यार्थीमा सीमित रही शैक्षणिक गतिविधिमा केन्द्रित रहेको छ । नमुनाका रूपमा लिइएका शिक्षक र विद्यार्थीहरूबाट प्रश्नावलीका माध्यमद्वारा तथ्यााङ्क सङ्कलन गरी नेपाली विषयमा सिकाइ उपलब्धि कम हुनुका कारणहरू पहिचान र विश्लेषण गरी निष्कर्ष निकालिएको छ । प्राप्त तथ्याङ्कका आधारमा नेपाली विषयको सिकाइ उपलब्धिमा प्रभाव पार्ने प्रमुख कारकमा विद्यार्थीको रुचि रहेको पाइएको छ किनकि रुचि विना गरिएको काम फलदायी हुँदैन । शिक्षकले जतिसुकै उपयुक्त तथा प्रभावकारी तरिका अपनाएर शिक्षण गरे तापनि विद्यार्थीले भाषिक ज्ञानलाई ग्रहण गर्ने इच्छा नराख्दा शिक्षकको मिहेनत बालुवामा पानी खन्याएझँै हुन पुग्छ । त्यस्तै नियमित गृहकार्य गरे तापनि गृहकार्यको स्रोत साथी वा गुगल अथवा कुनै सामाजिक सञ्जाल बनाइनु, शिक्षकले पनि नियमित रूपमा योजना निर्माण गरेर विद्यार्थीका इच्छा र आवश्यकता अनुरूप शिक्षण नगर्नु, नेपाली विषयको कापी परीक्षण गर्दा राम्रो र सही उत्तर लेखेमा पनि शतप्रतिशत अङ्क दिने चलन नहुनु, नम्बर दिनुपर्छ भन्नेहरू पनि स्पष्टीकरणको झमेलामा पर्न नचाहनु, भविष्यमा कम प्रयोग हुने विषय ठानी अभिभावक, प्रसासक अनि विद्यार्थीले पनि अन्य विषयका तुलनामा नेपाली विषयलाई कम महत्त्व दिनु यी विभिन्न कारणहरू पाइएका छन् । यस अध्ययनबाट प्राप्त नतिजा नेपाली भाषा अध्येता, शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय प्रसासक लगायत शिक्षा क्षेत्रमा आबद्ध नेपाली भाषाप्रेमी सम्पूर्ण व्यक्तित्त्वहरूका लागि उपयोगी हुने अपेक्षा राखिएको छ ।