‘मोटरसाइकलको बिहे’ बालनाटकमा सामाजिक यथार्थवाद
Keywords:
सामाजिक यथार्थवाद, सामाजिक सांस्कृतिक रूपान्तरण, विद्रोहात्मक चेत, कुरीति र कुसंस्कारAbstract
प्रस्तुत लेखमा छायादत्त न्यौपाने ‘बगर’द्वारा लेखिएको मोटरसाइकलको बिहे (२०६७) नाटकसङ्ग्रहअन्तर्गत रहेको ‘मोरसाइकलको बिहे’ बालनाटकको विश्लेषण सामाजिक यथार्थवादी दृष्टिकोण, माक्र्सवादी सांस्कृतिक रूपान्तरण र विद्रोहात्मक चेतको परिप्रेक्षका आधारमा गरिएको छ । व्यक्तिवादको विपरीत भाव समाजवाद हो । समाजवादी यथार्थवादले सबै खाले उत्पीडनलाई अन्त्य गर्ने अनि समाजमा विद्यमान शोषण, दमन, विभेद, कुरीति, कुसंस्कार, वर्गीय विभेद अन्त्य गरी शोषणरहीत रूपमा स्वतन्त्र हुने कुरालाई माक्सवादी चिन्तनले आत्मसाथ गरेको छ । यो नै सामाजिक यथार्थवादको आधार हो । यसै मान्यताका आधारमा यहाँ छायादत्त न्यौपानेद्वारा लेखिएको ‘मोरसाइकलको बिहे’ बालनाटकको विश्लेषण गरिएको छ । यस नाटकमा एकातिर समाजको सामाजिक संस्कार र संस्कृतिको यथार्थ अवस्थालाई चित्रण गरेको छ भने अर्कोतिर हाम्रो समाजमा रहेको संस्कार र संस्कृतिका रूपमा रहेको विवाहको समयमा हुने दाइजोको विकराल अवस्था अनि बाध्यात्मक अवस्थामा परेर गर्नुपर्ने सामाजिक संस्कारको विद्रोह गरी मोटरसाइकलसँग माला लगाएर स्वयंवर गर्न लगाएर विद्रोह गरिएको छ । अन्त्यमा दुलही पक्षका मानिस असल संस्कार निर्माण गर्नका लागि दाइजोविना विवाह सम्पन्न गराएर दुलही अन्माइएको छ । यस अवस्थाले समाजको वास्तविकताको जानकारी गराउनुका साथै समाजमा जरा गाडेको दाइजो प्रवृत्तिको विद्रोह भएकाले माक्सवादी चिन्तनमा आधारित वर्गीय विभेद तथा समाजमा रहेको कुसंस्कृतिका विरुद्ध विद्रोह गरी असल संस्कारको निर्माण गर्ने कुरा प्रष्ट रूपमा राखिएको छ ।