दैलेखी लोकपद्यमा रस
DOI:
https://doi.org/10.3126/cmcj.v3i1.91914Keywords:
लोकपद्यमा रस, अनुभाव, गाथा, डेउडा, दधिलेक, विभाव, मागलAbstract
प्रस्तुत अध्ययन दैलेखी लोकपद्यमा निहित रसको विश्लेषणमा केन्द्रित छ । दैलेख जिल्ला खस भाषिक क्षेत्रको महत्त्वपूर्ण भूभाग हो, जहाँ मौखिक परम्परामा आधारित समृद्ध लोकसाहित्य विकसित भएको पाइन्छ। लोकपद्यमा अभिव्यक्त मानवीय अनुभूति, संस्कार, सांस्कृतिक आस्था र जीवनदर्शनलाई पूर्वीय साहित्यशास्त्रको रस सिद्धान्तका आधारमा अध्ययन गर्नु यस लेखको प्रमुख उद्देश्य हो । यस अध्ययनमा पूर्वीय रस सिद्धान्तलाई सैद्धान्तिक पर्याधारका रूपमा ग्रहण गरी दैलेखी लोकपद्यमा प्रस्तुत श्रृङ्गार, हास्य, वीर, करुण, रौद्र, भयानक, बीभत्स, अद्भुत र शान्त रसको पहिचान र विश्लेषण गरिएको छ । अध्ययन गुणात्मक अनुसन्धान ढाँचामा आधारित छ र पुस्तकालयीय विधिबाट सामग्री सङ्लन गरिएको छ । प्राथमिक सामग्रीका रूपमा दैलेखी लोकपद्यसँग सम्बन्धित प्रकाशित लोकसाहित्यिक ग्रन्थहरूको प्रयोग गरिएको छ भने द्वितीयक सामग्रीका रूपमा रस सिद्धान्त, लोकसाहित्य र समालोचनासँग सम्बन्धित ग्रन्थ तथा अनुसन्धान लेखहरूको उपयोग गरिएको छ । सङ्लित लोकपद्यलाई रस निष्पत्ति प्रक्रियाका आधारमा विश्लेषण गरी विभाव, अनुभाव, व्यभिचारी भाव र स्थायी भावको पहिचान गरिएको छ । अध्ययनको निष्कर्षअनुसार दैलेखी लोकपद्यमा पूर्वीय साहित्यशास्त्रीय रस सिद्धान्तका सबै प्रमुख रसहरू स्वाभाविक र प्रभावकारी रूपमा अभिव्यक्त भएको पाइन्छ। लोकपद्य मौखिक परम्परामा विकसित भए तापनि त्यसमा गहिरो साहित्यिक सौन्दर्य र सैद्धान्तिक संरचना विद्यमान रहेको देखिन्छ । यस अध्ययनले दैलेखी लोकपद्यको साहित्यिक मूल्य उजागर गर्नुका साथै लोकसाहित्य र शास्त्रीय साहित्यबीचको सैद्धान्तिक अन्तरसम्बन्ध स्पष्ट गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।