नेपालका गुरुकुल तथा सार्वजनिक विद्यालय शिक्षामा स्थानीय शिक्षा सम्बन्धी नीतिगत अवस्था
DOI:
https://doi.org/10.3126/bhairahawacj.v6i1-2.65177Keywords:
गुरुकुल शिक्षा, सार्वजनिक शिक्षा, विकेन्द्रीकरण, स्थानीय पाठ्यक्रम, नीतिगत पक्षAbstract
नेपालको गुरुकुल तथा सार्वजनिक विद्यालय शिक्षामा स्थानीयता शिक्षा सम्बन्धी नीतिगत अवस्थाको के हो ? लेखाजोखा गर्नु अध्ययनको मुख्य समस्या हो । यस अध्ययनका सूचनाहरू द्वितीय स्रोतमा आधारित छन् । वर्णनात्मक विधिको माध्यमबाट तथ्य सूचनाहरूको गुणात्मक व्याख्या विश्लेषण गरिएको छ । नेपालमा विद्यालय शिक्षाको विकास अनियमित ढाँचावाट सुरु भई औपचारिक पद्धतिमा अगाडि बढेको देखिन्छ । स्थानीयता शिक्षा सम्बन्धी ऐतिहासिकताको अभ्यासमा केही घरायसी व्यवसाय, स्थानीय भाषाको प्रयोग, घरगृहस्थका कुरा, गुरु सन्देश, बुद्ध सन्देश, खस भाषा, सस्कृत भाषा र अंग्रेजी भाषा स्थानीय शिक्षाका आधार थिए । आधुनिक शिक्षाको सुरुवात सँगै आधार पाठशालाका व्यवसायिक विषयहरू धागो कटाइ, बुनाइ, तरकारी खेती, छपाई काष्ठ कार्य धातु कार्य आदि विषयले स्थानीय शिक्षाको प्रतिनिधित्व गर्दथे । अहिले नेपालको विद्यालय शिक्षामा केन्द्रीकृत पाठ्यक्रम लागू छ भने स्थानीयता शिक्षा र स्थानीय पाठ्यक्रमलाई समानार्थी रूपमा लिने गरेको नीतिगत व्यवस्था र अभ्यासमा देखिन्छ । स्थानीय विषय वा पाठ्यक्रम निर्माणका लागि स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गरिएको छ । शिक्षाका राष्ट्रिय नीति नियम छन् र तीनैको अधीनमा रही प्रदेश तथा स्थानीय सरकारहरूले स्थानीय शिक्षासम्बन्धी नीति निर्माण गरी लागु गर्न पाउने कानुनी व्यवस्था छ । एसियाका मुलुकहरू विशेषगरी भारत, जापान, चीन, मलेसिया र सिंगापुरमा स्थानीय ज्ञान सीप र सिकाइका लागि अलग्गै पाठ्यक्रम रहेको देखिँदैन । राष्ट्रिय पाठ्यक्रममा स्थानीय विषयवस्तु समावेश गरी सिकाईन्छ तर नेपालमा यो भन्दा भिन्न अभ्यास छ । विद्यालय शिक्षामा विकेन्द्रीकरणको मान्यता रहेपनि केन्द्रीकृत पाठ्यक्रम लागू छ । आधारभूत तहसम्मका लागि स्थानीय सरकार र सरोकारवाला स्थानीय निकायवाट छुट्टै स्थानीय पाठ्यक्रम निर्माणको व्यवस्था छ । स्थानिय शिक्षाका नीतिगत व्यवस्थाहरू पर्याप्त देखिएपनि यसको व्यवस्थापनमा परिवेश, लगानी र प्रक्रियागत पक्षमा अन्योल कायमै देखिन्छ । सरकारले मूलधारिकरणको मान्यतामा जोड दिए पनि सार्वजनिक विद्यालयहरू र परम्परागत विद्यालयहरूको शैक्षिक मान्यता फरक रहेकै कारण गुरुकुलहरूका अधिकांश विद्यालयमा स्थानीय पाठ्यक्रम भन्दा कर्मकाण्ड विषय अभ्यासमा पाइन्छ । स्थानीय पाठ्यक्रम निमार्णका नीति समयसापेक्ष भएपनि सार्वजनिक शिक्षातर्फ वढी केन्द्रित छन् । स्थानीयता शिक्षा वा स्थानीय पाठ्यक्रमका नीतिगत पक्षमा स्थानीय परिवेश, यसको लगानी पक्ष र कार्यान्वयन पक्षमा वाध्यकारी नीतिको खाँचो छ ।