उषा शेरचनको ‘तेस्रो रङ्ग’ कथासङ्ग्रहमा सामाजिक यथार्थ
Abstract
प्रस्तुत आलेख उषा शेरचनको ‘तेस्रो रङ्ग’ कथासङ्ग्रहमा सङ्गृहीत कथाहरूमा अभिव्यक्त सामाजिक यथार्थको अध्ययनमा केन्द्रित छ । प्रस्तुत सङ्ग्रहका कथाहरूमा प्रयुक्त विषयवस्तु सामाजिक यथार्थसँग सम्बन्धित भएको र कथाका मुख्य पात्रहरूले सामाजिक यथार्थलाई अभिव्यञ्जित गरेका छन् । कथामा पात्रका वैयक्तिक भोगाइ र उसका जीवनमा घटेका घटनाले कसरी सामाजिक यथार्थलाई प्रकटगरेको हुन्छ भनेर देखाउनु नै यसको उद्देश्य हो । यसका लागि जर्ज लुकासले भनेको कथामा प्रयुक्त पात्रको सामाजिकता, वर्गीयता, प्रतिनिधित्व र समाजसँगको यथार्थ नै सामाजिक यथार्थ हो भन्ने अवधारणालाई सैद्धान्तिक आधार बनाइएको छ । यहाँआएका समलिङ्गी तथा तेस्रो लिङ्गी, साइबर संस्कृति निर्मित समाज, वेश्यावृत्ति र दुर्व्यसन र लैङ्गिक हिंसा तथा नारीसमस्यासँग सम्बद्ध यथार्थलाई विश्लेषणको आधार बनाइएको छ । यसमा गृहीत कथासङ्ग्रहलाई प्राथमिक सामग्रीका रूपमा र यससँग सम्बन्धित तथा सामाजिक यथार्थवादसँग सम्बद्ध कृतिलाई द्वितीयक सामग्रीका रूपमा लिई पुस्तकालयीय कार्यबाट सामग्रीको सङ्कलन गरिएको छ । सामाजिक यथार्थवादका प्रमुख मान्यताका आधारमा यस कृतिका चयनित कथाहरूलाई व्याख्यात्मक विधिबाट विश्लेषण गरिएको छ ।यसक्रममा तेस्रो रङ्ग कथासङ्ग्रहभित्रका कथामा सामाजिक यथार्थका कुनकुन पक्ष मूल विषय बनेर आएका छन् भन्ने कुराको अध्ययन गरी नेपाली समाजमा विद्यमान विविध यथार्थलाई विभिन्न पात्रहरूका माध्यमबाट सूक्ष्मरूपमाचित्रणगरेर यथार्थलाई अभिव्यक्त गरिएकोछ भन्ने निष्कर्ष यस आलेखमा निकालिएको छ ।