आपत्कालीन अवस्थामा शिक्षाको निरन्तरता
DOI:
https://doi.org/10.3126/acadview.v9i1.71357Keywords:
सामुदायिक संरचना, शिक्षा, बसाईंसराई, विपद्Abstract
‘विपद्’ कुनै पनि समय, स्थान र परिस्थितिमा देखा पर्न सक्छ । संसारका सबैजसो देश र समुदायले कुनै न कुनै विपद्को सामना गरिरहेको देख्न, सुन्न पाइन्छ । प्राकृतिक कारणले होस् वा मानवीय कारणले होस्, विपद्ले सामान्यतया सम्बन्धित देशका सबै नागरिकहरूलाई असर गर्ने भए पनि खासगरी बुढाबुढी, बालबालिका, अपाङ्गता भएकाहरू, महिला तथा रोगीहरूलाई अझ बढी नकारात्मक प्रभाव पारेको भेटिन्छ । धन सम्पत्ति, सार्वजनिक भवन र संरचनाहरू मात्र नभएर विपद्ले व्यक्तिको ज्यान समेत लिने भएकोले यसले तत्कालिन र दीर्घकालिन सबैखाले दुष्प्रभावको सामना गर्न मानिसहरूलाई बाध्य गराउँछ । यसले धन सम्पत्तिको विनास, पारिवारिक विघटन, कसैको उठीबास लगाउने मात्र नभै बसाईं सर्न बाध्य गराउने, चोट ग्रस्त पार्ने तथा कतिपय अवस्थामा नागरिकहरूको सामान्य अधिकारबाट समेत विमुख बनाई दिन सक्छ । सामान्य गाँसबास, औषधीमूलो, आवतजावत गर्न पाउने स्वतन्त्रता मात्र होइन, बालबालिकाको पढ्न र सिक्न पाउने अधिकारबाट एकै झ्टकामा अधिकार बिहिन बनाई दिएको देख्न पाइन्छ । व्यक्तिको बाँच्न पाउने, सुरक्षित हुन पाउने तथा अन्य नागरिक हक र सेवाहरूलाई विपद्ले निष्प्रभावी बनाई दिने हुँदा यसबाट सामाजिक, आर्थिक, सांस्कृतिक तथा पारिवरिक अवस्थामा पर्ने प्रभाव÷दुष्प्रभावहरूलाई अझबढी नियाल्नु पर्ने हुन जान्छ । विपद्को एउटै घटनाले शिक्षामा पार्ने असरबाट समाजका लाखौं विद्यार्थीहरू सिक्न पाउने नैसर्गिक हकबाट बञ्चित हुन परेको घटना २०७२ सालको भूकम्पले दर्शाइ सकेको छ । पठनपाठनको अवसरबाट लाखौं विद्यार्थीहरू लामो समयसम्म विमुख हुन नपसोस् भन्ने अभिप्रायले राज्यद्वारा जे–जति शैक्षिक प्रयत्नहरू गरिए, तिनै कोसिसहरूको सन्दर्भमा यो सामग्री तयार गरिएको छ ।