पतञ्जलीको योगदर्शनका आधारमा जीवन विज्ञानको विश्लेषण
Keywords:
योग शिक्षा, चित्तवृत्ति, अष्टाङ्ग योग, जीवन विज्ञान, जीवनदर्शनAbstract
योग पूर्वीय सभ्यताको प्राचीनतम ज्ञानपरम्परामध्ये एक महŒवपूर्ण जीवनदर्शन हो । संस्कृतको ‘युज्’ धातुबाट निर्मित
‘योग’ शब्दले जोड्नु, एकाकार गर्नु वा संयोग गराउनु भन्ने अर्थ दिन्छ । योगलाई केवल शारीरिक व्यायाम, आसन वा
स्वास्थ्योपचारको पद्धतिका रूपमा बुझ्नु यसको व्यापक दार्शनिक आयामलाई सीमित गर्नु हो । योग मूलतः शरीर, मन, बुद्धि,
चेतना र आत्माको समन्वयमार्फत व्यक्तिलाई आन्तरिक सन्तुलन, आत्मबोध र जीवनको उच्चतर उद्देश्यतर्फ उन्मुख गराउने
समग्र जीवनपद्धति हो । महर्षि पतञ्जलीले ‘अथ योगानुशासनम्’, ‘योगश्चित्तवृत्तिनिरोधः’ र ‘तदा द्रष्टुः स्वरूपेऽवस्थानम्’ जस्ता
सूत्रमार्फत योगलाई अनुशासन, चित्तवृत्तिको निरोध र द्रष्टाको स्वस्वरूपमा अवस्थिति हुने प्रक्रियाका रूपमा स्थापित गरेका
छन् । यस अध्ययनमा नेपालको योग शिक्षा प्रवद्र्धनमा जीवन विज्ञान प्रतिष्ठानले सञ्चालन गर्दै आएको प्रशिक्षक प्रशिक्षण
कार्यक्रमलाई पतञ्जलीको योग दर्शन तथा पूर्वीय दर्शनका जीवनदृष्टिसँग सैद्धान्तिक रूपमा आबद्ध गरी विश्लेषण गरिएको
छ । वैदिक साहित्य, उपनिषद्, भगवद्गीता, योगसूत्र तथा अन्य पूर्वीय दार्शनिक परम्परामा विकसित योगसम्बन्धी
अवधारणालाई आधार बनाउँदै आधुनिक समाजमा योग शिक्षाको आवश्यकता र उपयोगिता स्पष्ट गरिएको छ । विशेषतः
कठोपनिषद्को आत्मज्ञान, श्रेय–प्रेयको द्वन्द्व र रथरूपक; मुण्डकोपनिषद्को पराविद्या–अपराविद्याको विभाजन तथा
आत्मज्ञानको अनुभूतिपरक अवधारणा; श्वेताश्वतर उपनिषद्को योग, ध्यान, आत्मा, परमात्मा र मोक्षसम्बन्धी चिन्तन तथा
पतञ्जलीको अष्टाङ्ग योगलाई प्रशिक्षक प्रशिक्षण कार्यक्रमका सैद्धान्तिक आधारका रूपमा ग्रहण गर्न सकिने देखिन्छ । जीवन
विज्ञान प्रतिष्ठानको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई योगलाई जनस्तरसम्म पुर्याउने, प्रशिक्षित जनशक्ति निर्माण गर्ने, योगलाई
जीवनशैलीका रूपमा स्थापित गर्ने र व्यक्तिको शारीरिक, मानसिक, भावनात्मक तथा आध्यात्मिक स्वास्थ्य अभिवृद्धि गर्ने
महत्त्वपूर्ण माध्यमका रूपमा लिन सकिन्छ । अध्ययनले योग शिक्षा केवल रोगनिवारणमा सीमित नभई आत्मअनुशासन,
मानसिक शान्ति, नैतिक जीवन, सामाजिक सद्भाव र समग्र जीवनबोध निर्माण गर्ने शिक्षा हुनुपर्ने निष्कर्ष प्रस्तुत गरेको छ ।