आधारभूत तहको पठन सिपगत सक्षमताले उच्च शिक्षाको गुणस्तरमा पार्ने प्रभाव
DOI:
https://doi.org/10.3126/jmcrj.v14i1.92842Keywords:
पठनबोध, पठन संस्कृति, शैक्षिक क्षति, साक्षरता, सुझबुझयुक्त पढाइ, संज्ञानात्मक दक्षताAbstract
औपचारिक अध्ययनमा सिकाइको मुख्य आधार सुझबुझयुक्त पठन सिप हो । आधारभूत तहको पूर्वज्ञानलाई रूपान्तरण र विस्तार गर्दै माथिल्लो तहमा स्तरवृद्धि गराउन पठनप्रवाह र पठनबोध अत्यावश्यक हुन्छ । तल्लो कक्षामा गरिने वर्ण, शब्द र वाक्यको पठनबोध अभ्यासले माथिल्लो कक्षाको रचनात्मक, सिर्जनात्मक क्षमतामा प्रत्यक्ष सहायता पुगेको हुन्छ । यसबाट पठनप्रवाह, शब्दभण्डार र पठनबोध क्षमता विकास भई समग्र शैक्षिक गुणस्तर सुधारमा मद्दत पुग्छ । यसरी विद्यालय शिक्षाको प्रभावकारी पठन सिपगत अभ्यासले उच्च शिक्षाको गुणस्तर सुधारमा सहायता पुग्छ भन्ने कुराको खोजी गर्नु नै यस अध्ययनको मुख्य उद्देश्य हो । यस अध्ययनमा तीन जना विज्ञको धारणा तथा पुस्तकालयीय सामग्रीलाई आधार मानी गुणात्मक अनुसन्धान विधिमार्पmत विश्लेषण गरिएको छ । अध्ययनमा विद्यालय तहबाटै सिकारुलाई यान्त्रिक र सतही पठनभन्दा फरक गहन र सार्थक पठनको व्यवस्थित र प्रभावकारी अभ्यास गराउनुपर्ने तर्क पेस गरिएको छ । तथ्यअनुसार पढाइ सिपबाटै सिकारुमा उच्चस्तरीय संज्ञानात्मक र संवादात्मक दक्षता विकास गर्न सकिन्छ । त्यस्तै पढाइमा कमजोर हुँदा गरिबीले समेत असर गरेको पाइयो । यस अध्ययनबाट आधारभूत तहको पठन सक्षमताले माथिल्लो तहमा आलोचनात्मक र तार्किक सोच, बौद्धिक कुशलता, प्रभावकारी बोध र अभिव्यक्ति क्षमता विकासमा प्रभाव पार्ने देखियो । नेपालमा उच्चस्तरीय जनशक्ति निर्माणको जग विकास गर्न तल्लो कक्षाको पढाइलाई ध्वनि सचेतीकरण, लेख्य वर्ण सचेतीकरण, पठनप्रवाह, शब्दभण्डार, बोध र लेखाइको विश्वव्यापी अभ्यासअनुरूप कार्यान्वयन र विकास गर्नुपर्ने देखिएको छ । अतः उच्च शिक्षाका विद्यार्थीहरूमा आलोचनात्मक सोच विकास गर्न, विषयवस्तुको गहिरो ज्ञान ग्रहण गरी सङ्कथन निर्माण गर्न र उच्च शिक्षालाई गुणस्तरीय बनाउन आधारभूत तहको पठन सिपगत अभ्यासले प्रत्यक्ष रूपमा प्रभाव पार्छ भन्नु नै यो अध्ययनको मुख्य निष्कर्ष रहेको छ ।