महाकालीको तिस घण्टा र शोकमग्न यात्रीहरू निबन्धमा नवउपनिवेशवादको प्रतिरोध
DOI:
https://doi.org/10.3126/jmcrj.v14i1.92838Keywords:
अल्पविकसित, आर्थिक परनिर्भरता, औपनिवेशिक, नवउपनिवेश, साम्राज्यवाद, सार्वभौमसत्ताAbstract
प्रस्तुत लेख नारायण ढकालको ‘महाकालीको तिस घण्टा र शोकमग्न यात्रीहरू’ निबन्धको नवउपनिवेशवाद विरोधी चेतना विश्लेषणमा आधारित छ । यसमा मूल समस्याको समाधानका लागि निबन्धमा प्रकटित विकासका पूर्वाधार निर्माणमा भारतीय हस्तक्षेप, भारतसँगको नेपालको परनिर्भरता, सन्धिसम्झौताहरूको कार्यान्वयनमा भएको विभेद र सीमा अतिक्रमणको आलोचना जस्ता प्रतिमानको उपयोग गरिएको छ । प्रस्तुत लेखको सैद्धान्तिक ढाँचाको मूल आधार नवउपनिवेशवादी अध्ययनअन्तर्गत एड्वार्ड सइदको ‘कल्चर यान्ड इम्पेरियलिजम्’ (१९९४) कृतिमा प्रस्तुत सिद्धान्त रहेको छ । नवउपनिवेशवाद आर्थिक र राजनीतिक पक्षसँग सम्बन्धित स्वतन्त्र राष्ट्र र त्यसको भूराजनीतिसम्बद्ध विषय रहँदारहँदै पनि नवउपनिवेशवादलाई उत्तरऔपनिवेशिक समालोचनाअन्तर्गत अन्तरविषयक समालोचना पद्धतिका रूपमा साहित्यले सहजै अङ्गीकार गरेको छ । समालोचनाका क्षेत्रमा नवउपनिवेशवाद विरोधी चेतना विकसित र शक्तिसम्पन्न देशको आर्थिक र राजनीतिक क्रियाकलापका कारणबाट अल्पविकसित देशमा पर्ने प्रभाव र त्यसले निम्त्याएको परनिर्भरताका आधारमा कृतिको विश्लेषण गर्ने सिद्धान्त हो । यसले साहित्यिक पाठमा रहेका विकसित राष्ट्रको प्रभुत्वको आशय, राज्यको नवउपनिवेशवादी संस्कृति, राज्य राज्यका बिचको आर्थिक अन्तर्सम्बन्ध जस्ता पक्षहरूको खोजी गरी तिनको प्रयोजनपरक ढङ्गले विश्लेषण गर्ने काम गर्दछ । ‘महाकालीको तिस घण्टा र शोकमग्न यात्रीहरू’ निबन्धको नवउपनिवेशवाद विरोधी चेतनाविश्लेषणअन्तर्गत यस आलेखमा विकासका पूर्वाधार निर्माणमा भारतीय हस्तक्षेप, भारतसँग नेपालको परनिर्भरता, सन्धिसम्झौताहरूको कार्यान्वयनमा भएको विभेद र सीमा अतिक्रमणको आलोचना विश्लेषणका माध्येमबाट नवउपनिवेशवाद विरोधी चेतना पहिचान गरिएको छ । प्रस्तुत निबन्धमा नेपालमाथिको भारतीय नवउपनिवेशवादी नीतिको उद्घाटन, त्यसको तथ्यपरक र आलोचनात्मक प्रसार एवम् वैचारिक सहमतिका लागि अवलम्बन गरिएका संवेदनशील राजनीतिक तर्कको सौन्दर्यपरक अभिव्यक्तिले पनि नवउपनिवेशवाद प्रतिरोधी चेतना प्रकटीकरणका कोणबाट यो निबन्ध प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ ।