पारिजातका कवितामा लैङ्गिक शक्तिसम्बन्ध
DOI:
https://doi.org/10.3126/aoj.v8i1.91091Keywords:
असन्तुलित, उत्पीडन, प्रभुत्व, शक्तिसम्बन्ध, सीमान्तीयAbstract
प्रस्तुत लेख पारिजातका कवितामा शक्तिसम्बन्धको विश्लेषणमा केन्द्रित छ । शक्तिसम्बन्ध ग्राम्सीको प्रभुत्वसम्बन्धी मान्यताको विश्लेषणका क्रममा विमर्शमा आएको हो । यो पश्चिमी विद्वान् फुकोलगायतका दार्शनिकहरूका दृष्टिकोणबाट परिपोषित छ । समाजमा रहेका विभिन्न जाति, लिङ्ग, वर्ग, धर्म, भाषा, संस्कृति, भूगोलका बीचमा शक्तिको के कस्तो सम्बन्ध रहेको भन्ने कुरालाई शक्तिसम्बन्धमा अध्ययन गरिन्छ । यस लेखमा पाठमा चित्रित पात्रका कार्य, तिनका भूमिका, व्यवहार, अवस्था आदिका आधारमा शक्तिसम्बन्धको विमर्श गएिएको छ । यसलाई जाति, लिङ्ग र वर्गगत राजनीतिका आधारमा विश्लेषण गर्न सकिए तापनि यस लेखमा पितृसत्तात्मक असन्तुलित शक्तिसम्बन्धका आधारमा किनारामा पुर्याइएका नारी पात्रको विश्लेषण गरिएको छ । पुस्तकालयबाट सामग्रीको सङ्कलन गरिएको यस लेखमा प्राथमिक सामग्रीका रुपमा पारिजातका तीनवटै कविता सङ्ग्रहमा सङ्गृहीत कविता मध्येबाट शक्तिसम्बन्ध सशक्त, सबल र सघन रूपमा अभिव्यक्त भएका रचनालाई सोद्देश्य चयन गरिएको छ । यस लेखमा सैद्धान्तिक आधार र अवधारणा निर्माण गर्नका लागि द्वितीयक स्रोतका सामग्रीको उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान पद्धति र विषयवस्तु विश्लेषण विधिको उपयोग गरिएको यस लेखमा पाठमा प्रयोग भएका शक्तिसम्बन्ध प्रधान कथनका आधारमा कृतिनिष्ठ व्याख्या गरिएको छ । पितृसत्तात्मक नेपाली समाजमा सांस्कृतिक र विचारधारात्मक रूपमा पुरुषमा निहित सत्ताका कारण नारीहरूको अवस्था किनारीकृत र पुरुषमा अन्तनिर्भर पहिचानमै सीमित रहेको विषय कवितामा अन्तर्वस्तुका रुपमा आएको छ । नेपाली समाजमा पितृसत्ताको वर्चस्व सामाजिक सांस्कृतिक रूपमा दमनकारी मात्र नभई नारी मनोविज्ञान र शरीरमा समेत पुरुषकै अधिकार हुन्छ भन्ने मान्यताका कारण पुरुष नारीका सापेक्षमा बढी शक्तिशाली हुने हुँदा लिङ्गीय शक्तिसम्बन्ध सन्तुलनमा नरहेको निष्कर्ष निकालिएको छ । समाज तथा परिवार शक्तिसम्बन्ध खलबलिदा पुरुष उत्पीडक भई केन्द्रमा रहेको र नारी उत्पीडनमा परी किनारामा पुगेको भाव अभिव्यञ्जित भएको छ । यसका साथै लिङ्गीय आधारमा नारीहरू सामाजिक, सास्कृतिक, आर्थिक, राजनीतिकलगायत सबै संरचनामा दमित र उत्पीडित भएको विषयलाई विश्लेषण गरी निष्कर्षमा पुगिएको छ ।